Tuesday, April 21News That Matters

निर्वाचन सम्बन्धि सर्वपक्षिय अन्तरक्रिया, नेकपा (प्रचण्ड–माधव समूह) ले राख्यो विमती

पूर्णपुष्टि, माघ १५

जिल्ला निर्वाचन कार्यालय उदयपुरले आज निर्वाचन कार्यक्रम सम्बन्धमा सर्वपक्षिय तथा सर्वदलीय अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा आयोजित अन्तरक्रियामा सहभागी राजनितिक दलका नेताहरुले निर्वाचन सम्बन्धिको कार्यक्रमप्रति गुणासो ब्यक्त गरे । हाल निर्वाचनको नाममा गरिने गतिविधिलाई बेमौसमी बाजाको संज्ञा दिदै सरकारले समय र आर्थिक स्रोतको खर्च मात्र गरेको टिप्पणी गरे । नेकपा केन्द्रीय सदस्य एवम् त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले निर्वाचन आयोगले नेकपा अन्तरगतका देखिएका दुई समूह मध्य कुन आधिकारीक हो र कस्ले बैधानिकता सहित चुनाव चिन्ह पाउँछ भन्ने निर्कौल नगरी चुनावी गतिविधि अगाडी बढाउन अस्वभाविक भएको टिप्पणी गर्नुभयो ।

नेकपा उदयपुरका जिल्ला सचिव ईश्वरमणी राउतले सरकारले नहुने निर्वाचन घोषणा गरेको बताउनुभयो । चुनावि गतिबिधिले राज्यको आर्थिक स्रोत सकिने र जनशक्तिहरुले दुख पाउने भन्दै आपत्ति जनाए । संसद बिघटन ब्युतिने वा नब्युतिने भन्ने बारेमा न्यायलयको फैसाला आईनसकेको अवस्थामा चुनावि माहोल भन्दै प्रचार गर्ने र कार्यक्रमहरु गर्ने सरकारको शैली ठिक नभएको टिप्पणी गर्नुभयो । उहाँले निर्वाचनको कार्यक्रम प्रति असहमति जनाउदै नोटअफ डिसेनट समेत लेख्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख खड्ग बहादुर परियारले सरकारले तोकेको चुनाव समयमै हुने जिकिर गर्नुभयो । जनताको सुख र समृद्धिको लागि चुनावको घोषणा गरिएको भन्दै चुनावी माहौलमा होमिन राजनितिक दलहरुलाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जिल्लामा निर्वाचनका लागि शान्ति सुरक्षाको लागि व्यवस्था चुस्त दुरुस्त रहेको जानकारी दिनुभयो । सरकारले निर्देश गरे अनुरुप चुनावी तयारी तथा सुरक्षा व्यवस्थामा प्रशासन तयार रहेको बताउनुभयो । उहाँले चुनावलाई मर्यादित र निष्पक्ष बनाउन सबैको साथ सहयोग चाहिने भन्दै शान्तिपूर्ण ढंगले आफ्नो गतिविधिलाई अगाडी बढाईदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक तयारी तथा प्रचारको काम अगाडी बढाएको जानकारी दिइयो । मतदाता शिक्षा, मतदाता नामवली सच्याउने जस्ता कामहरु हाल भईरहेको र त्यसका लागि राजनितिक दल तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन अधिकृत हिमालय बरालले बताउनुभयो ।