पूर्णपुष्टि, वैशाख ३१
कोरोनाको क्रस फैैलिएसंगै संक्रमण फैलन नदिन जारी निषेधाज्ञामा अपांगता भएका महिला, बालिका, किशोरी यौन हिंसा तथा बलात्कारमा पर्ने घटनाहरु बढेको छ । बहुअपांगता, बौद्घिक अपांगता, बहिरा अपांगता, शारीरिक अपांगता भएका बालिका, महिला, किशोरी सहजै भाग्न नसक्ने र आफूमाथि भएको अपराध सहजै भन्न नसक्ने, भने पनि बुझाउन नसक्ने हुँदा अपराधीको शिकार भएका छन् ।
वैशाख ९ गते बनेपाको भैंसेपाटीमा बौद्धिक अपांगता (डाउन सिन्ड्रोम) भएकी २७ वर्षीया लीला तामाङ (परिवर्तित नाम) बलात्कृत भइन् । काममा गएकी आमा छोरीलाई खाजा खुवाउन डेरा आउँदा छिमेकी ठूलोकान्छा भन्ने देव दोर्जे लामाले बलात्कार गरेको भेटेपछि छिमेकीको सहयोगमा पक्राउ गरी बनेपा प्रहरीमा बुझाएका थिए । पीडक लामा वैशाख ३० गते कारागार चलान भएका छन् ।
त्यसैगरी वैशाख १६ गते दिउँसो सर्लाही हरिवनकी २८ वर्षीया मुना कार्की (परिवर्तित नाम) बलात्कारमा परिन् । बोल्न र सुन्न नसक्ने उनलाई हावाले झारेको आँप टिप्न गएको बेला बलात्कार गरेका छिमेकी राकेश पौडेल फरार छन् । त्यो घटनापछि मुनामा मानसिक समस्या थपिएको छ । नीलो रङको लुगा लगाएका पुरुष देख्नासाथ उनी चिच्याउँछिन् । बलात्कार गर्दा राकेश पौडेलले नीलो कपडा लगाएका थिए ।
महोत्तरी जिल्ला लोहरपट्टीकी बहुअपांगता भएकी २० वर्षीया सानुकुमारी कुर्मी (परिवर्तित नाम) गत वैशाख २६ गते घरमै बलात्कृत भइन् । बोल्न नसक्ने, अरूले बोलेको राम्रोसँग बुझ्न नसक्ने, हिंडडुल गर्न नसक्ने उनलाई छिमेकी ताहिर सेखले बलात्कार गरेका थिए । ट्याक्टर चालक ताहिरले गहुँ बजार लगिदिएको भाडा लिन आउँदा सानुकुमारी घरमा एक्लै रहेको भेटेर उक्त अपराध गरेका थिए । बेलुका आमाबुवा आएपछि सानुकुमारीले आफूमाथि भएको अपराध हातको इशाराले बताउन खोजिन्, तर बुझाउन सकिनन् । भोलिपल्ट फेरि आएका ताहिरलाई हातले देखाउँदै सानुकुमारी आत्तिंदै रुन थालेपछि सेख भाग्यो । त्यसपछि मात्र आमाबुवाले छोरीमाथि बलात्कार भएको थाहा पाएर समाजसँग के गर्ने भनेर सल्लाह मागे । तीमध्ये धेरैजसोले समझदारी गरेर जानुपर्ने बताएपछि बुबाआमा सीधै जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुगे । पीडक ताहिर भने अझै फरार छन् ।
उल्लिखित तीन घटना वैशाखभित्रका हुन् । यी घटनाले अपांगता भएका महिलाहरू कति जोखिममा छन् भन्ने देखाउँछ । नेपाल अपांग महिला संघकी अध्यक्ष टीका ढकाल पोहोर लकडाउन शुरू भएयता अपांगता भएका २६ महिला यौन हिंसा तथा बलात्कारमा परेको बताउँनुहुन्छ । कोरोना संकटले अपांगता भएका महिलाहरूलाई थप जोखिममा पारेको उहाँको भनाइ छ ।
अध्यक्ष ढकालकाअनुुसार कोरोनाको तनावमा घरमा थुनिएका अपांगता भएका महिला, बालिका, किशोरीहरू परिवारकै सदस्य, छिमेकी र आफन्तबाट यौन हिंसा तथा बलात्कारमा पर्नुले देखिन्छ । उहाँकाअनुसार इज्जत जोगाउने नाममा भित्रभित्रै ढाकछोप गरिने भएकोले यस्ता सबै अपराधका घटना सार्वजनिक नभएको बताउनुहुन्छ ।
