
पूर्णपुष्टि, जेष्ठ २७
निषेधाज्ञाको अवधिमा भएको यौनिक हिंसाका घटना र न्याय प्राप्तीमा देखिएको चुनौती प्रति महिला पुनस्र्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानाकर्षण भएको छ । यही हप्ता मात्र पनि तीन वटा यौनजन्य हिंसाका घटनाहरु विभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक भएका छन् । सुर्खेतको राउटे समुदायका किशोरीहरुमाथि भएको यौन दुव्र्यवहार , लमजुङ्गमा शिक्षकबाटै १४ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार र बाँकेकी २२ वर्षीया महिलालाई दाइजोमा मोटरसाइकल नल्याएको निहुँमा परिवारकै सदस्यबाट हत्या भएको छ । यी घटनाले मानिसको मानवतामाथि नै प्रश्न चिन्ह उठाएको छ, के यही हो मानवता ? यस्ता अमानविय गतिविधिहरु तत्काल बन्द गरियोस भनी स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउन ओरेकले बुधबार प्रेस विज्ञप्ति जारी गरेको हो ।
निषेधाज्ञाकै समयमा सुर्खेत गुर्भाकोट गाउँपालिका–९ का युवाहरूले स्थानीय राउटे समुदायका किशोरीहरूमाथि उनीहरूको मञ्जुरीविना प्रलोभनमा पारी मदिरा सेवन गराई तस्वीर तथा भिडियो खिच्ने, गलत नियतले होटलमा ल्याई मादक पदार्थ सेवन गराई यौन दुव्र्यवहार भएको घटनाप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता कार्यहरू मानवता विरोधी घृणित कार्यहरू हुन्भन्ने हाम्रो ठहर रहेको विज्ञप्तिमा उल्लेख छ । ओरेकले यस घटनामा संलग्न दोषीहरुमाथि तत्काल कडाभन्दा कडा कारवाहीको माग गरेको छ । यस प्रवृत्तिले घुमन्ते जीवन बिताउने राउटे युवतीहरूको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको हनन भएको छ साथै उक्त घटनाका कारण निज किशोरीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको कुरा मानव अधिकार आयोगको जुम्ला प्रदेश कार्यालयको अनुगमन प्रतिवेदनबाट समेत आएकाले प्रभावित किशोरीहरूको गोपनीयताको संरक्षण गर्दै उनीहरूको सुरक्षाका लागि तत्काल आवश्यक कदम चाल्न सरकार समक्ष आग्रह गरेको छ । साथै युट्युवलगायत सामाजिक सञ्जालमा सुसूचित सहमतिविना राखिएका उनीहरुका भिडियोहरूलाई तत्काल सामाजिक संजालबाट हटाउन पनि सरोकारवाला समक्ष ओरेकले माग गरेको छ ।
त्यस्तै, निषेधाज्ञाकै अवस्थामा लमजुङ्ग जिल्ला राइनास नगरपालिका–९, मोहोरियास्थित विद्यालयमा अध्यापन गर्ने शिक्षकले १४ वर्षे किशोरीमाथि पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घटनाका दोषीले घटनालाई कमजोर बनाउन किशोरीलाई नै विभिन्न लाञ्छना लगाई उनलाई नै दोषी देखाई प्रहरीमा समेत उजुरी दर्ता गर्न अवरोध आएको छ । प्रभावित किशोरी तथा उनका परिवार आरोपितको पकडमा रहेको र उनीहरूको सुरक्षाको चुनौती बढिरहेको सूचना प्राप्त भएको छ । यस घटनामा दोषी जोसुकै भएपनि उसलाई कानुनी दायरामा ल्याई प्रभावित किशोरीको न्याय तथा तत्काल किशोरी तथा उनका परिवारका सदस्यहरूलाई मनोविमर्श, सुरक्षा लगायतका आवश्यक सेवा प्रदान गर्ने वातावरण निर्माणका लागि स्थानीय सरकार तथा जिल्लास्थित प्रहरी प्रशासन समक्ष ओरेकले विशेष आग्रह गरेको छ ।
त्यसैगरी कोरोना महामारीकै बीचमा बाँकेकी २२ बर्षीया महिलाको दाइजोमा मोटरसाइकल नपाएको निहुँमा परिवारकै सदस्यहरूबाट हत्या भएकोसमाचारहरु प्रकाशन भएका छन् । यसलाई प्रभावितका परिवारले आत्महत्याको संज्ञा दिएका छन् । यस घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नको लागि ओरेकले माग गरेको छ ।
हाल कोरोना महामारीका कारण भएको निषेधाज्ञाले गर्दा कतिपय घटनाहरु बाहिर आउन नसकेकोले विभत्स तस्वीर कति छन् यसको यकिन गर्न गा¥हो छ ।
यस्ता जघन्य अपराधका घटनाहरुलाई पनि सरकारले गम्भीर रुपमा नलिँदा र घटनाको वास्तविक पीडकको पहिचान गरी दोषीलाई कारबाहिको दायरामा ल्याउन नसक्दा प्रभावितको न्याय प्राप्तीमा विश्वास मर्दै गएको छ । समाजमा रहेका महिला तथा किशोरीहरूलाई हेर्ने विभेदकारी दृष्टिकोण रहेसम्म हाम्रा समाजका महिला र किशोरीहरूमाथि हुने यौनजन्य दुव्र्यवहार र बलात्कारका घटनाहरूमा कमी आउने छैनन् ।
तसर्थ यस्ता गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितहरुको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायहरु समक्ष ओरेकले अपिल गरेको छ । यस्ता मानव अधिकार हनन्का जघन्य अपराधमा समेत प्रभावितले न्याय प्राप्त गर्ने सहज वातावरण सिर्जना नभएमा महिला/मानव अधिकारकर्मीहरु सडकमा नै आएर प्रभावितको न्यायका लागि आवाज बुलन्द गर्न बाध्य हुने ओरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


