
पूर्णपुष्टि, असार ६
कोरोना भाइरसको दोस्रो महामारीको चरणमा भइरहेको निषेधाज्ञाको समयमा महिला तथा बालिकामाथि विभिनन्न प्रकारको हिंसा भइरहेको छ । निषेधाज्ञाको कारण महिला तथा बालिकाहरु हिंसापूर्ण वातावरणमा बाँच्न बाध्य भएको अवस्था विभिन्न तथ्याङ्कहरुले पुष्टी गरेको छ ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले यस निषेधाज्ञाको समयमा निषेधाज्ञाको अबधिभर ३७१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको तथ्याङक सार्वजनीक गरेको छ । संस्थाले गएको २ हप्तामा (जेठ १६ देखि जेठ ३१ गते सम्म) १७१ जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको तथ्याङकले देखाएको छ । यस अवधिमा संकलन भएका हिंसाका घटना मध्ये ७३ जना महिला/बालिका/किशोरी बलात्कार भएको पाइएको छ, जसमध्ये ३ वटा सामूहिक बलात्कार र १ वटा बैवाहिक बलात्कार रहेका छन् । त्यस बाहेकका अन्य घटनाहरु घरेलु हिंसा, बलत्कार प्रयास, यौन दुव्र्यवहार, हत्या, मानव बेचविखन लगायतका घटनाहरु रहेका छन् । 
जसमध्ये बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरु मध्ये सबै भन्दा बढी ३६ प्रतिशत (२६ जना) महिला तथा बालिका छिमेकीबाट बलात्कृत भएका छन्, भने १९ प्रतिशत (१४ जना) बलात्कारका घटना आफ्नै परिवारका सदस्यहरु (जसमध्ये ५ वटा बुवावाट, १ वटा मामाबाट, २ वटा ससुराबाट, १ वटा जेठाजुबाट र ५ वटा परिवारका अन्य सदस्यबाट) भएको ओरेको तथ्याङकले देखाएको हो । यसैगरी १४ वटा प्रेमी ठानिएका व्यक्तिवाट, १ वटा शिक्षकबाट र १८ वटा घटना अन्जान व्यक्तिबाट भएको पाइएको छ ।

ओरेकले सार्वजनीक गरेको तथ्याङकमा सबैभन्दा बढी ४७ प्रतिशत (३४ जना) १६ बर्षभन्दा कम उमेरका बालिकाहरु बलात्कृत भएको देखिएको छ । यस्तै, १७ देखि २५ बर्ष उमेर समुहका ३२ प्रतिशत ( २३ जना), २६ देखि ३५ वर्ष उमेर समूहका ९ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका २ जना, र ५ जना उमेर समूह थाहा नभएका बालिकाहरु बलात्कृत भएको तथ्याङक ओरेकको सूचना अधिकारी एलिसा श्रेष्ठले प्रस्तुत गर्नुभयो ।

