Thursday, July 2News That Matters

नेपालमा ठूलो जलविद्युत् आयोजना बनाउने अस्ट्रेलियाली कम्पनीको प्रस्ताव

पूर्णपुष्टि, असोज १७

नेपालमा अस्ट्रेलियाको एउटा कम्पनीले ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ ।
अस्ट्रेलियास्थित फोर्टेस्क्यु मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गर्ने र त्यसको खपत तथा बजारीकरण पनि आफैँ गर्नेगरी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसमक्ष प्रस्ताव पेस गरेको छ ।

फोर्टेस्क्यु मेटल ग्रुप अस्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो । प्रस्ताव आएपछि मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच भर्चुअल बैठकसमेत भएको छ । कम्पनीका अध्यक्ष एन्ड्रयु फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली असोज २६ गते नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ ।
ऊर्जामन्त्री वर्षमान पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानुनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी गराउने जनाईएको छ ।

तीन दिने नेपाल बसाइका क्रममा टोलीले उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेट्ने जनाइएको छ । नेपालको जलविद्युतमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैँ गर्ने कम्पनीको प्रस्ताव राम्रो लागेको मन्त्रालयले जनाएको छ ।

कम्पनीका प्रतिनिधि आएपछि विभिन्न आयोजनाबारे जानकारी गराउँने र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौतासमेत गर्ने जनाईएको छ ।

अस्ट्रेलियाले नेपालमा पछिल्लोपटक एकीकृत नदी बेसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत् आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएको थियो ।