Sunday, May 17News That Matters

नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधी बरामद

पूर्णपुष्टि,माघ २८

मोरङ विराटनगर–५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको  १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलील राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र निजको भाई बिक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो ।

खानतलासी गर्ने क्रममा निजहरुको कोठाबाट  आइएनजे अमिडो, आइएनजे पारासेटामोल, आइएनजे डेस्रिम नुफटस–७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको औषधीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने एचपी कम्पनीको कलर प्रिन्टर समेत फेला पारी बरामद गरेको छ ।

कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ । यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।