Sunday, May 17News That Matters

चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने झापाबाट पक्राउ

पूर्णपुष्टि,माघ २८

चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । झापा अर्जुनधारा–९ का २९ बर्षीय पंकज पौडेली बि.क.लाई पक्रउ गरेको हो । पौडेली अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न  बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्दै आएका थिए ।

पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगी मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ बाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बि.क.को साथबाट नगद  ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, निजको घरकोठामा रहेको दराज भित्रबाट २ लाख ८ हजार २ सय रुपैयाँ फेला परेको छ । त्यसैगरी पौडलीको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ गरी जम्मा १३लाख ९५ हजार २ सय १५ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।

त्यस्तै पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान ,विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ थान ,अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिम सहितको २ थान बरामद भएको छ । ठगीको आरोपमा पक्राउ परेका बि.क.लाई  थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमान्डौ  पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।