Wednesday, April 22News That Matters

नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिने चिनियाँ नागरिक

पूर्णपुष्टि, साउन ८ । नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। विभागका अनुसार नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएका छन्।

नेपालमा सञ्चालित आयोजनाहरूले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा रहेको छ। एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन्। काठमाडौं–तराई–मधेस द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सबैभन्दा बढी विदेशीलाई रोजगारी दिएको छ।

गत आर्थिक वर्षमा नेपालमा रोजगारी खोज्ने विदेशी श्रमिकको संख्या १० प्रतिशतले घटेको छ। २०७९–८० मा २,९९४ जनाले श्रम स्वीकृति लिएकोमा गत वर्ष २,६८५ जनाले मात्र लिएका छन्। यसमध्ये ३४९ जना महिला रहेका छन्।

विभिन्न क्षेत्रमा विदेशी नागरिकहरू कार्यरत छन्, जसमा पोली चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुरकमला रोड प्रोजेक्ट, चाइना ओभरसिज इन्जिनियरिङ, साञ्जेन खोला हाइड्रोपावर, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल र हुवावे टेक्नोलोजी प्रमुख छन्।