Friday, June 26News That Matters

नेपालमा आयो सलह किरा

पूर्णपुष्टि, असार १३

भारतबाट नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो ।

भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आए पनि ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले जनाएको छ ।

नेपाल छिरेका सलह किरा बारा, पर्सा र सर्लाहीमा रुख तथा जमिनमा बसेको जानकारीमा आएको मन्त्रालयले जनाएको छ । सहल किरा देखिएका जिल्लाका किसानसहित अरु किसानलाई पनि सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।

किसान एक्लैले सलह किरालाई रोक्न नसक्ने भएकोले ठूलो क्षति हुनबाट रोक्न पालिका र प्रदेश सरकारले आवश्यक समन्वय गर्नु जरुरी छ ।

सामान्य फट्याङ्ग्रा किराले ठूलो क्षति नगर्ने तर लस्कट प्रजातिको फट्याङ्ग्रा भए बाली तथा बोटबिरुवामा ठूलो नोक्सानी गर्ने जनाईएको छ । लस्कट प्रजातिको फट्याङ्ग्रा ठूलो र खैरो खालको हुन्छ ।

सर्लाहीको नवलपुरमा रहेको तेल बाली अनुसन्धान कार्यक्रमको परिसरमा बसेका किराहरु उड्दै–उड्दै नजिकै रहेको उष्ण प्रदेशीय बृहत् बागबानी केन्द्रमा समेत प्रवेश गरेको छ । अहिले देखिएको किरा ८÷१० हजारको झुण्डमा रहेको छ ।

नेपालका कृषि वैज्ञानिकहरुका अनुसार दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो ।

सलह किरा नेपाल प्रवेश गरेपछि प्रजाति पहिचान र व्यवस्थानको उपाय खोज्न कृषि मन्त्रालयका पदाधिकारीसहित विज्ञको टोली अहिले छलफलमा रहेको जनाईएको छ ।