
पूर्णपुष्टि, असार २३
नेपालमा ९९ प्रतिशत कोरोना भाइरस (कोभिड–१९) का लक्षण विहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन् । पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन् ।
अहिलेसम्म २ लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ प्रतिशत बिरामी लक्षणविहीन फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा हालसम्म २ सय ६७ जना सङ्क्रमित पुष्टि भएको जनाएको छ । काठमाडौँमा १ सय ७५, ललितपुरमा ४१ र भक्तपुरमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
काठमाडौँमा पुष्टि भएका सङ्क्रमितमध्ये विदेशबाट आएका ७९ प्रतिशत छन् । काठमाडौँमा साउदी अरब, कुवेत, माल्दिभ्स लगायतका देशबाट उद्धार गरी ल्याइएका बिरामीको सम्पर्कमा आएका केही व्यक्तिहरूमा सङ्क्रमणको पुष्टि भएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
विदेशबाट आउनेलाई अनिवार्य आरटी पीसीआर परीक्षण गरेर विमानमा बस्न दिने निर्देशिका तयार गरियो तर काठमाडौँ विमानस्थलमा उत्रिदा आरडीटी मात्रै गरेको, कुनै परीक्षण नै नगरी कोरोनामुक्त भएको चिठीसहित आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सरकारी अग्रसरतामा करिब १७ हजार नेपाली विदेशबाट नेपाल आएका छन् । मन्त्रालयका अनुसार १७ हजार नेपाल फर्केकोमा ३५ प्रतिशत आगन्तुकले मात्रै आरटी पीसीआर परीक्षण गरी विमान चढेका छन् । अर्को ३५ प्रतिशत आरडीटी मात्रै गराएका छन् । त्रिभुवन विमानस्थलमा उत्रिदा लक्षण देखिएको र परीक्षण गर्दा सङ्क्रमण पाइएका व्यक्ति पनि फेला परेको मन्त्रालयले जनाएको छ । आगामी दिनमा विदेशबाट उद्धार गर्दा परीक्षणलाई अझै कडाइ गर्नुपर्ने सुझाव दिएको छ ।
काठमाडौँसहित देशभरि समुदायमा कोरोना सङ्क्रमण नरहेको जनाईएको छ । समुदायमा कोरोना सङक्रमण नरहेको दाबीलाई केही प्रारम्भिक अध्ययनले पनि बल पुर्याउनले जनाईएको छ ।
