
पूर्णपुष्टि,असार १९ । एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । जिम्बाब्वेको हरारेमा जारी खेलमा नेपालले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै २६८ रन बनाएको हो ।
१६९ रनमा ७ विकेट गुमाएको नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले ८० रनको साझेदारी गर्दै सम्मानजनक अवस्थामा पुर्याएका हुन् । गुल्सनले अविजित ५७ रन बनाए । उनले ४२ बल मात्रै खेलेका थिए । अन्तिम बलमा गुल्सनले छक्का हानेका थिए । सन्दीप ३० बलमा ३२ रन बनाएर आउट भए । त्यसवाहेक अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रनको योगदान गरे । ओपनर कुशल भूर्तेललाई ८ रनमा गुमाए पनि अर्का ओपनर अर्जुनले इनिङ्स सम्हालेका थिए ।
ज्ञानेन्द्र मल्ल आज पनि चलेनन् । उनी ७ रनमा आउट भए । यूएईविरुद्ध गतिलो ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरी आज सून्य रनमै पेभेलिएन फर्किए ।
आयारल्याण्डको लागि क्रेग योङ, मार्क अडायर र ब्यारी म्याकार्थीले २–२ विकेट लिए। आजको खेल जित्न सके नेपाल विश्वाकपको सुपर सिक्समा पुग्न नसक्ने टोलीमा उत्कृष्ट बन्नेछ ।
