Friday, July 3News That Matters

नेपालीलाई दुर्व्यवहार गनलाई कारबाही

पूर्णपुष्टि, साउन ३

भारतमा नेपाली नागरिकलाई दुर्वयवहार गर्ने र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तर प्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिनुभएको हो ।

भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो राख्दै शुक्रबार मुख्यमन्त्री आदित्यनाथसँग टेलिफोनमा चासो व्यक्त गरेको थियो ।

मुख्यमन्त्री आदित्यनाथ भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँगको कुराकानीका क्रममा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारविरुद्ध कारबाही थालिएको जनाउ दिनुभएको दुताबासले जनाएको छ ।

नेपालीहरू उत्तरप्रदेशमा सुरक्षित रहनेछन्, कारबाही सुरु भइसकेको छ, नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ र जनस्तरको सम्बन्ध बलियो छ त्यसलाई बिथोल्न र खल्बलिन हामी दिँदैनौँ भनेर मुख्यमन्त्री आदित्यनाथले आश्वस्त पार्नुभएको दुताबासले जनाएको छ ।

विश्वहिन्दु सेनाका कार्यकर्ताले त्यहाँस्थित एक नेपालीलाई जबरजस्ती केसमुण्डन गरी टाउकोमा श्रीराम लेखेर प्रधानमन्त्री ओली र नेपालविरुद्ध नारा लगाउन लगाएको भिडियो सार्वजनिक गरेका थिए । साथै बनारसको ललिताघाटस्थित पशुपतिनाथको मन्दिरमा नेपाल विरोधी पोस्टरसमेत टाँसिएका थिए ।

यो मन्दिर नेपालका तात्कालिन राजा रणबहादुर शाहले आफू प्रवासमा रहँदा निर्माण गर्नुभएको थियो । सो घटनालाई लिएर प्रहरीले सङ्घका संस्थापक अध्यक्षविरुद्ध नै उजुरी दर्ता गरेको जनाईएको छ ।