
पूर्णपुष्टि, साउन २ । नेपाली राष्ट्रिय पूरुष भलिबलको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । उनलाई सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले कप्तानमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन आर्मी क्लबका स्पाईकर श्रेष्ठ २०१५ देखी नेपाली राष्ट्रिय टिमका लागी खेल्दै आएका छन् । उनले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् । नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जितेको थियो । उक्त प्रतियोगितामा श्रेष्ठले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।
यसअघिको कप्तान हरी हजुर थापालाई संघले गत आईतबार बर्खास्त गरेको थियो । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा कप्तानको भुमिका राम्रोसँग पुरा नगरको र कर्तव्यबाट विमुख भएको भन्दै संघले थापालाई निलम्बन गरेको हो ।
गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना मगरले भाग नलिएपछि कप्तान बनेका थापा निलम्बनमा परेपछि खाली रहेको पदमा संघले श्रेष्ठलाई नियुक्त गरेको हो । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष लिगमा आर्मी र गण्डकी बिच भएको खेलमा आर्मीका धनबाहादुरले दर्शकलाई कुटपिट गरेका थिए । दर्शकमाथि कुटपिट गरेका धनबहादुरलाई संघले ६ महिनाको लागी निलम्बन समेत गरेको छ ।
