
पूर्णपुष्टि, भदौ ५
नेपाल–इजरायल सरकारबीच कुटनीतिक राहदानी सम्बन्धमा सम्झौता भएको छ । नेपाल र ईजरायलका कुटनीति राहदानी भएकालाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
यो सम्झौतासँगै अब नेपाल र इजरायलका कुटनीतिक राहदानी भएकाहरुलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञाको आवश्यकता नपर्ने सुविधा मिलेको छ ।
इजरायलको जेरुसेलममा रहेको परराष्ट्र मन्त्रालयमा भएको एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान शाक्य र इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेको दूतावासले जनाएको छ ।
नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्टमार्फत इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनोट गरी उनीहरुको लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सल्ट्यान्टको रुपमा विकास गर्न सकिने कार्यक्रममा राजदूत शाक्यले सुझाव दिएको थियो ।
केयर गिभिङ क्षेत्रमा फेरि नेपालीहरुलाई ल्याउने तथा रोजगारीका अन्य क्षेत्रमा ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।
