Thursday, May 7News That Matters

नेपाल पर्यटक भित्र्याउन एसियामै पहिलो

असोज ३० गते ।

नेपाल पर्यटक भित्र्याउने वृद्धिदरमा एसिया प्रशान्त क्षेत्रकै पहिलो स्थानमा परेको एक तथ्याङ्कले देखाएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कमा नेपाल एसिया प्रशान्त क्षेत्रकै पहिलो देखाएको हो ।

सन् २०१८ मा पाटाको तथ्याङ्क अनुसार पर्यटक आगमन वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको देखिएको छ । तथ्याङ्क अनुसार यस वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । पहिलो स्थानमा रहेको नेपालपछि टर्कीको २१.८ प्रतिशतको वृद्धिदर रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानमा रहेको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा रहेकोे दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर रहेको तथ्याङ्कले देखाएको छ ।

उक्त क्षेत्रमा सन् २०१८ मा पाटाले ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेको देखिएको छ । सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बृद्धि भई अहिलेसम्मकै यो सङ्ख्या उच्च देखिएको हो ।

प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि छ भने ६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ । नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो । प्रत्येक वर्ष १० लाख पर्यटक धित्र्याउने लक्ष्य लिएको नेपालले त्यहि वर्ष पूरा गरेको थियो ।

सन् २०१७ मा नेपाल भित्रिने पर्यटक सङ्ख्या नौ लाख ४० हजार थियो भने सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागको तथ्याङ्क छ । सन् २०१९ को अगस्टसम्म सात लाख ४२ हजार छ सय पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ । नेपालले सन् २०२० लाई भ्रमण वर्ष नै घोषणा गरी २० लाख पर्यटक भित्र्याउने तयारी गरेको छ ।

सरकारले भ्रमण वर्ष नै लक्षित गरेर भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने कामलाई तीव्र दिएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउन सामाजिक सञ्जालमा आधिकारिक लोगो प्रयोगदेखि विदेशमा रहेका नेपालीलाई त्यहाँका पर्यटक नेपाल पठाउने पहल गर्नसमेत आग्रह गरेको छ ।