
पूर्णपुष्टि, असोज २२
सुनसरीको कोशी गाउँपालिका–७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ । अपहरणमा परेको १० घण्टापछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी र भारतीय प्रहरीको समेत सहयोगमा बालकलाई उद्दार गरीएको हो ।
अपहरणमा संलग्न रहेको अभियोगमा भारत सुपौल ग्राम पंचायत बलबदैपुर–६ बैरयाकमाल बस्ने मुकुम मिँयालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खोजी गर्ने क्रममा मिँयाले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्दार गरेको हो ।
मिँया नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरु लैजाने ठेक्दार रहेकोमा मिँयालाई नेपाली कामदारहरु १५ र २० जनाको संख्यामा उपलब्ध गराई दिन्छु भनी नेपालतर्फ सुनसरी कोशी गाउँपालिका–७ बस्ने भुल्टन सदा लगायत ५ जनाले अग्रीम २ लाख पैसा भुक्तानी लिई कामदार पठाउने भनेका थिए ।

तर उनीहरुले कामदार नपठाएपछि मिँया लगायतको समूहले भुल्टन सदाको गाउँकै ती बालकलाई अपहरण गरी कुटपिट समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अपहरण मुक्त भएका ती बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै मिया उपर अपहरण तथा शरीर बन्धक कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको उक्त प्रहरीले जनाएको छ ।

