
पूर्णपुष्टि, असोज २२ । नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाको ताला तोडिएको छ । सोमबार मदनराज कटुवाल नेतृत्वको टोलीले लामो समयदेखी नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखामा लागेको ताला तोडेको हो ।
भदौ १२ गते उच्च अदालत विराटनगरको फैसलाले कटुवाल नेतृत्वलाई बैद्यानिकता दिएको भन्दै सो समुहले कार्यालयमा लगाईएको ताला तोडेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय समितिको २०७८ कात्तिक २३ गतेको ३०८ औँ बैठकले तत्कालिन बिनोदकुमार बस्नेत नेतृत्वको उदयपुर शाखामा अनियमितता भएको भन्दै विघठन गरिदिएको थियो ।
त्यस पश्चात उदयपुरका सबै सरोकारवालासँग छलफल गरी आफ्नो नेतृत्वमा १५ सदस्य तदर्थ समिति गठन गरेको मदनराज कटुवालले बताएका छन् । उनका अनुसार गठन गरिएको १५ सदस्यीय समितीले एक महिना सम्मकाम गरेपछि अदालतबाट काम रोक्न आन्तरिम आदेश आएको थियो । अदालतबाट पुरानै समितिलाई काम गर्न दिनु भन्ने आन्तरिम आदेश आएपछि उनिहरुलाई सहजै रुपमा काम गर्न दिईएको कटुवालले बताए ।
त्यसपछि उच्च अदालतको अन्तिम फैसालाले बस्नेत नेतृत्वको टोलीलाई अवैधानिक भएको भन्दै रिट खारेज गरेको र पुन काम गर्ने बाटो खुलाई दिएको उनले बताए । नेपाल रेडक्रस सोसाइटी उदयपुरका कोषध्यक्ष महेन्द्र राईले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय उदयपुरसँग छलफल गरी ताला तोडिएको बताएका छन् । उनिहरुले मुद्धा दर्ता गर्दा अदालतले पुरानै समितिलाई काम गर्न दिनु भनेपछि सहज रुपमा छाडिदिएको कोषाध्यक्ष राईले बताए । दुबै पक्ष बसेर ताला खोल्न बस्नेत पक्षलाई अनुरोध पनि गरिएको कोषाध्यक्ष राईको भनाई छ ।
