
पूर्णपुष्टि,बैशाख १८ । एसीसी मेन्स प्रिमियर लिगमा घरेलुु टोली र युएईबिचको बाकीँ फाईनल खेल भोली (मंगलबार) हुने भएको छ । किर्तिपुर त्रिवि मैदानमा आज नेपाल र युएईबिच भएको फाईनल खेल बर्षाका कारण स्थगित भएको छ ।
टस हारेर ब्याटिङ गरेको युएईले २७।३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्दा बर्षा सुरु भएपछि खेल भोलीलाई सारिएको हो । भोली बिहान ९ बजेबाट सुरु हुने खेल आजकै अवस्थाबाट खेलाईने छ । यस फाईनल खेलमा रिजर्भ डे राखिएको कारण नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले बाँकी खेल भोली खेलाउने निर्णय गरेका हुन् ।
नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र गुल्सन झाले समान १–१ विकेट लिएका छन् । यूएईका लागी सर्वाधिक ४६ रन जोडेको आसिफ खानले अर्धसतक बनाउन ४ रनले चुके ।
भोलि पनि बषाका कारण खेल स्थगित भएमा आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ ।
