
पूर्णपुष्टि, असार ४ । उदयपुरका एक १५ बर्षीय बालकले खेल्ने क्रममा निलेको कैँची नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अपरेसन गरेर निकालिएको छ । आकस्मिक कक्षमा ल्याईएको बालकको एक्स–रे र सिटी स्क्यानको आधारमा पेटको ठुलो आन्द्राभित्र कैँची अड्किएको पुष्टि भएको थियो ।
घटना अत्यन्तै जटिल र संवेदनशील रहे पनि नोबेल शिक्षण अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा अमित भट्टराई र उनको सर्जिकल टोलीले ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरी कैँची निकालेका हुन् । डा अमित भट्टराईले बालकको आन्द्रामा कैँची अड्किएको र समयमै ल्याप्रोस्कोपिक सर्जरीमार्फत कैँची निकाल्न सफल भएको बताएका छन् । अहिले बालकको अवस्था सामान्य रहेको उनले बताए । शल्यक्रियापछि बालक दुई दिनमा स्वस्थ भई घर फर्किएका छन् । हेडलाईनमा १५ बालक हुन पुगेकोले १५ बर्षीय बालक भनेर सच्याईएको छ ।
