
पूर्णपुष्टि, भदौ ६
पति–पत्नी बिचको झगडा मिलाउन पुगेका एक जना छिमेकीको हत्या भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ भण्डारी टोलमा ४३ वर्षीय धनराज लिम्बूको झगडा मिलाउन खोज्दा हत्या भएको हो ।
मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी पत्नी निरुताबीच भदौ ३ गते राति ८ः४० बजेतिर विवाद एवं झगडा भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । रविन आफ्नी पत्नी निरुतासहित मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुबीच लामो समयदेखि पारिवारिक झैझगडा भइरहेको खुलेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार पत्नीसँग झगडा परेपछि रविनले भाइहरु ३० वर्षीय आइतराज र २६ वर्षीय संजय तामाङलाई पनि बोलाएको पाइएको छ । उनीहरुबीच पारिवारिक झैझगडाका विषयमा छलफल भइरहेका बेला रविनका जेठान मिक्लाजुङ–६ का ४० वर्षीय भाग्य बम्जन (तामाङ) ले मिक्लाजुङ–७ का धनराज र ५५ वर्षीय दुर्गाबहादुर कार्कीलाई लिएर पुगेको खुलेको डीएसपी श्रेष्ठले बताए ।
डीएसपी श्रेष्ठका अनुसार धनराज र दुर्गाबहादुर भाग्यले संचालन गरेको फ्रेस हाउसमा त्यतिबेला मासु किन्न पुगेका रहेछन् । बहिनी–ज्वाईंको झगडा भइरहेको सुनेपछि मासु किन्न आएका छिमेकीलाई समेत लिएर भाग्य घटनास्थलमा पुगेको पाइएको श्रेष्ठको भनाइ छ । उनका अनुसार झगडा नगर्न एवं मिलेर बस्न पति–पत्नीलाई सुझाव दिएका धनराज र दुर्गाबहादुरलाई पारिवारिक कुरामा बाहिरका व्यक्तिहरु प्रवेश गरेको भन्दै रविन, आइतराज र संजयले दाउराले कुटपिट गरेको खुलेको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका धनराजलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो । उनको उपचारका क्रममा शनिबार राति ११ः४५ बजेतिर मृत्यु भएको अस्तालले जनाएको छ । आक्रमणमा परेर सामान्य घाइते भएका दुर्गाबहादुर उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रविन, आइतराज र संजयलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरिसकेको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । रविनका जेठान भाग्यलाई पनि नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
