
पूर्णपुष्टि सम्वाददाता
उदयपुर, असार १८ ।
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्य तथा अभया मिडिया प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रा.लि.को आयोजनामा “पर्यटन प्रवद्र्धन सम्बन्धी नीतिगत व्यवस्था” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश तथा स्थानीय तहमा पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत व्यवस्थाबारे व्यापक छलफल गरिएको थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार सेनानी तथा पर्यटनविद् कौशल चेम्जोङले प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण क्षेत्रहरूको पहिचान गरी दीगो पर्यटन विकासमा जोड दिनुपर्ने बताएका थिए ।
उनले पर्यटन क्षेत्रलाई स्थानीय आर्थिक समृद्धिसँग जोड्दै रोजगार सिर्जना, पूर्वाधार विकास तथा स्थानीय उत्पादनको बजारीकरणमा पर्यटनको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । साथै, पर्यटनमैत्री नीति निर्माण, प्रभावकारी प्रचार–प्रसार तथा निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला होटल तथा पर्यटन व्यवसायी, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
