
पूर्णपुष्टि, वैशाख २९ ।
पत्रकार दुब्र्यवहारको विरोधमा नेपाल पत्रकार महासंघको आव्हनमा पत्रकारहरुले आज बिहान बीरगन्जको घण्टाघरमा धर्ना गरेका हुन् । प्रहरीको दुर्व्यवहार र दमनकाविरुद्ध पर्साका पत्रकारहरुले धर्ना शुरु गरेका हुन् ।
धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले घटनाको निष्पक्ष छानविन गरी दोषी प्रहरीलाई कारवाही गर्नुभयो । उहाँले राजा ज्ञानेन्द्रलाई फ्याँक्नेदेखि प्रेसलाई देखिनस्कने विभिन्न सन्चारमन्त्रीलाईसमेत घुँडा टेकाउने प्रेसको हैसियतलाई पर्सा प्रहरीले नबुझेको उहाँले बताउनुभयो । उहाँले बेलैमा चेत खुलोस् भन्ने सुझाव दिनुभयो ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकार तिवारी यादवमाथि दुर्व्यवहार गर्ने दोषी प्रहरीलाई कारवाही नगरिन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
स्वास्थ्यकर्मी, बैंक कर्मचारी, व्यसायी र सन्चारकर्मीलाईसमेत अत्यन्तै निन्दनीय ढंगबाट पर्सा प्रहरीले व्यवहार प्रदर्शन गरिरहेको भन्दै अध्यक्ष बन्जाराले प्रहरीको दुर्व्यवहारको विरोधमा बाध्य भएर पत्रकारहरु बाहिर धर्नामा निस्कनु परेको बताउनुभयो ।
पर्सा प्रहरीको हिजो दुब्र्यवहारले मिडियालाई संकुचित बनाउने प्रयास गरेको उहाँले बताउनुभयो । उहाँले पत्रकारले भण्डाफोर अभियान सन्चालन गर्नु पर्ने आव्हान पनि गर्नुभयो । आन्दोलनको शुरुवात भइसकेको हुनाले एकताबद्ध भई पर्सा प्रहरीको विरुद्धको चरणबद्ध आन्दोलनमा होमिन सबैलाई आग्रह गर्नुभयो ।
बीरगन्जको सामुदायिक रेडियो नारायणी एफएम र नयाँ पत्रिका दैनिकमा कार्यरत तिवारी यादवलाई हिजो प्रहरीले पक्राउ गरेर हातपात गरेको थियो । बीरगन्जको लिंकरोडमा रहेको एफएम स्टेशनको गेट छेउकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरिराखेको बहानामा दुई भ्यानमा आएका प्रहरीले लछारपछार गर्दै पक्राउ गरेर पत्रकार यादवमाथि हातपातसमेत गरेका थिए । महासंघ, पर्सा लगायतका पत्रकार आबद्ध विभिन्न संघसंस्थाको चर्को दबाबपछि ५ घण्टा पश्चात रिहा गरिएका थियो ।
