
पूर्णपुष्टि, असार ९
बिभिन्न पशुपन्छीको आवाज दुरुस्तै निकालेर युट्युवमा भाईरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको पुष्टि भएको छ । दक्षिणकालीमा भेटिएको महिलाको शव उनकै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको अनलाइनखबरलाई बताए ।
‘टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको देखिएको छ,’ उनले भने, ‘अनुहार क्षतविक्षत भएको छ ।’ उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।
प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेका छन् ।
