Friday, May 22News That Matters

पहिरो विस्थापितलाई बुधबारेमा अस्थायी बसोबास

पूर्णपुष्टि, साउन १

अविरल वर्षापछि संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा शनिबार राति आएको पहिरोबाट विस्थापित भएकाहरुलाई बुधबारे बजारमा अस्थायी बसोबासको तयारी गरेको छ । सिलिचोङ गाउँपालिका–२ सिसुवाटारको बुधबारे बजारमा सुरक्षाकर्मीको टोलीले अस्थायी बास निर्माण गरिरहेको हो ।

मैदान सम्याउने, टेन्ट टाँग्ने, शौचालय र खानेपानी लगायतको व्यवस्थापनमा खटिरहेको गाउँपालिकाले जनाएको छ । बेसिन्दा गाउँका ७३ घरका ३ सय ५० जना भन्दा बढिलाई अस्थायी रुपमा तत्काल चित्रेमा सारिएको थियो ।

चित्रे समुद्री सतहबाट झण्डै २ हजार ४ मिटरभन्दा माथिको उचाईमा रहेकाले चिसो र सधैंभरी बाक्लो हुस्सु र कुहिरो लागिरहने भएकाले बुढाबुढी र बालबालिकाको स्वास्थ्य अवस्था र शिक्षालाई समेत मध्यनजर गरेर सिसुवाटारको बुधबारे बजारमा सार्ने काम भइरहेको पालिकाले जनाएको छ ।

टेन्ट निर्माण गरिएसँगै थप राहत उद्धारका कार्यलाई प्रभावकारी र सहज बनाउन बुधबारेमा ब्यवस्थापन गरिएको हो । पहिरोमा परेर ११ जना बेपत्ता भएका छन् । ४ जनाको उद्धार गरिएको थियो । पहिरोले ९ घर बगाएको थियो ।

पहिरोमा परेर हराइरहेकाहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । मंगलबार हेलिकप्टरबाट राहत पु¥याएको छ ।