
पूर्णपुष्टि, जेष्ठ १५ । पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय शृखंला अन्तर्गतको पहिलो खेलमा मलेसियाले नेपालमाथि ५ विकेटको जित निकालेको छ ।
मलेसियाको बांगाईस्थित युकेएम–युएसडी मैदानमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालका लागी रुविना क्षेत्री सीता राना मगरले समान २–२ विकेट लिइन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन जोडेको थियो । यसै खेलबाट नेपालका लागी सम्झना खड्का र कृतिका मरासिनीले सिनियर टोलीमा डेब्यु गरेका छन् । डेब्यु खेलमै खड्काले नेपालका लागी सर्वाधिक १३ जोडिन भने ज्योती पाण्डेले ११ रन बनाइन् । त्यस्तै कृतिका शुन्यमा अविजित रहिन् ।
नेपालविरुद्ध मलेसियाले उत्कृष्ट बलिङ गरेको थियो । मलेसियाका लागी निक नुर अतिएलाले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै अइन्ना हामिज हासिम, अइस्या एलिसा र माहिरा इज्जाती इस्माइलले समान २–२ विकेट लिए ।
