
पूर्णपुष्टि, असार १२
नेपालमा पहिलो पटक सरकारले बालबालिकालाई झाडापखाला विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि ५ वर्षमुनिका बालबालिकालाई झाडापखाला रोक्ने खोप ‘रोटारिक्स’ दिने भएको हो ।
बालबालिकालाई खोप पहिलोपटक ६ हप्तामा र दोस्रो पटक १० हप्तामा खोप खुवाइने गरिन्छ । ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि ७ वटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकेको महाशाखाले जनाएको छ । यो खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई दिनेछन् ।
झाडापखालाबाट वर्षेनि बालबालिकाको ज्यान जाने गरेकाले त्यसलाई रोक्न खोप दिन थालिएको जनाईएको छ । बर्षेनि ३ लाख ५० हजारदेखि ४ लाख बालबालिकालाई झाडापखाला लाग्ने र ती मध्ये ९ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ ।
बालबालिकामा पखाला लाग्ने ४० प्रतिशत रोटा भाइरसका कारणले हुने भएकाले खोप दिन थालिएको हो । ६० प्रतिशत अन्य भाइरस, परजीवी, जीवाणुजस्ता कारणले हुने गर्दछ ।
अब नयाँ जन्मने बच्चा र ६ महिना पुगेका बच्चाबाट यो खोपको शुरुवात गरिने महाशाखाले जनाएको छ । नेपालमा बाल मृत्युदर कम गर्न जन्मेदेखि १ वर्ष ३ महिनासम्मका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क दिइने गरिन्छ ।
