Friday, May 15News That Matters

पहिलो महिनामै साढे ५७ लाख बजेट रकमान्तर

भदौ ४ गते । 

चालु आर्थीक वर्षको पहिलो महिनामै सरकारले बजेट रकमान्तर गर्न सुरु गरेको छ । दुर्ई वटा कार्यक्रमका लागि गत साउनमा ५७ लाख ६५ हजार १ सय ८७ रुपैयाँ बजेट रकमान्तर गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा  १० लाख रुपैयाँ रकमान्तर गरिएको छ । कार्यालयको भैपरी आउने खर्चबाट साधारण प्रशासनमा रकमान्तर गरी १० लाख रुपैयाँ खर्च गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साउन महिनामा ४७ लाख ६५ हजार रुपैयाँ रकमान्तर निकासा गरेको छ । ६ असारमा सरकारले गठन गरेको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका लागि सो रकम रकमान्तर गरिएको हो ।

सरकारले एक महिनाको अवधिमा विभिन्न व्यक्तिलाई १६ लाख २१ हजार रुपैयाँ नगद बाँडेको छ । भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालसहित १२ जनालाई ३ लाख ६६ हजार ६ सय १२ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै कंचनपुर घटनाका घाइते अर्जुन भण्डाराको नियमित कुरुवासमेतको व्यवस्थापन खर्चवापत मासिक २५ हजार राहत रकम उपलब्ध गराउन गृह मन्त्रालयका नाममा ४ लाख २० हजार ५ सय ३० रुपैयाँ निकासा दिइएको छ ।  डोटीको पूर्वी चौकीमा खोप लगाएपछि मृत्यु भएका ४ जना बालबालिकाको अभिभावकलाई १० लाखको दरले उपलब्ध गराउन पहिलो चरणमा २ लाख ६० हजार ७ सय ६२ रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा निकासा दिइएको छ । त्यसैगरी धादिङका केशव बिसुराललाई गृह मन्त्रालयमार्फत ५ लाख ७३ हजार ८ सय ८५ रुपैयाँ प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।