Wednesday, August 5News That Matters

पाँचथरमा जनप्रतिनिधि, पत्रकार र सर्वसाधारणसहित पाँचको मृत्यु

पूर्णपुष्टि, जेष्ठ १७

पाँचथरमा कोरोनाको दोस्रो चरणको महामारीले पाँचजनाको ज्यान गएको छ । एक जनप्रतिनिधि, एक पत्रकार र तीनजना सर्वसाधारणसहित पाँचजनाको  कोरोनाबाट ज्यान गएको हो ।

हिलिहाङ गाँउपालिका–४ का वडाध्यक्ष श्री सिगुको कोरोनाको कारण ज्यान गएकोे छ । झापाको बीएण्ड सी अस्पतालमा उपचारका क्रममा सिगुको ज्यान गएको थियो । सिगुलाई लामो समयसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पतालमै उनको ज्यान गएको हिलिहाङ गाँउपालिकाका अध्यक्ष भवानी लिङदेनले जानकारी दिनुभयो ।

कोरोनाकै कारण शुक्रबार नेपालपत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको ज्यान गएको छ । झापाको बिर्तासीटी अस्पतालमा उपचार गराएका भण्डारीको स्वास्थ्यमा सुधार नभएपछि ज्यान गएको हो । लामो समयसम्म उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । भण्डारीको शुक्रबार ज्यान गएको महासंघ पाँचथरले जनाएको छ ।

सुरुमाफालेलुङ गाँउपालिका–२ का ६० वर्षीय पुरुषको ज्यान गएकोे थियो । उनको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा ज्यान गएको हो । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको थियो ।

फिदिममा होटल व्यवसाय गर्दै आएका कुम्मायक गाँउपालिकाका ४५ वर्षीय पुरुषले पनि कोरोनाका कारण ज्यान गएको छ । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि झापा लैजाने क्रममा बाटोमै ज्यान गएको थियो ।

आईतबार फाल्गुनन्दगाँउपालिका–३ राँकेका ६४ वर्षीय एक पुरुषले पनि कोरोनाकै कारण ज्यान गएको छ । सामान्य रुघाखोकी र ज्वरो आएपछि उनी घरमै बसेका थिए । मृत्युपछि एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।