Thursday, April 30News That Matters

पाँच दिनअघि कारमा मृत भेटिएका बालकको शव अभिभावकले अझै बुझेनन्

पूर्णपुष्टि,वैशाख २३ 

दाङमा पाँच दिनअघि कारमा तीन बालकको शव फेला परेको थियो । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगरेसम्म शव नबुझ्ने अभिभावकले बताएका छन् ।

मृत बालकको अभिभावकले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित परिवारलाई आग्रह गरेका छन् । नगरप्रमुख पाण्डेले अपराधपूर्ण कार्य भए कारवाही गर्नुपर्ने जनाउँदै त्यसका लागि पीडित परिवारले अनुसन्धानका लागि थप प्रमाण जुटाउनका लागि सहयोग गर्नुपर्ने बताए । घटनालाई निष्पक्ष रुपमा छानविन गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिइएको नगरप्रमुख पाण्डेले बताए । छानविन पश्चात मात्र घटनाको वास्तविकता खुल्ने जनाए ।

घटनाको अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहित विशेषज्ञको टोली आएको थियो । शव परीक्षणका लागि बुटवलबाट विशेषज्ञ  चिकित्सक बोलाइएको थियो । परीक्षण रिपोर्टमा चिकित्सकले शव सडेगलेको हुँदा  विषादी सेवन वा अन्य यस्तै कारणले मृत्यु भएको हो या होइन भनी अनुसन्धान गर्न समस्या भएकाले भिसेरा परीक्षणका लागि काठमाडौँ पठाइसकेको तुलसीपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

तुलसीपुरको स्याउली बजारमा यहि वैशाख १९ गते आरजेओआईसीसी ०८८५ भारतीय नंको कारमा  बरुवा गाउँ निवासी भीमबहादुर परियारका ९ वर्षका छोरा सन्दीप, सोही ठाउँका सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण र कृष्ण परियारका ६ वर्षका छोरा करण मृतावस्थामा भेटिएपछि उक्त परिवार न्याय खोज्दै विभिन्न निकायमा पुग्ने गरेको छ । कारधनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरी ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।