
पूर्णपुष्टि, साउन २३
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षणको नतिजापछि मात्रै प्रशिक्षणमा सहभागी गराउने भएको छ ।
आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि ३४ जना खेलाडीलाई १४ दिनको क्वरेण्टीनमा राखिएको छ । प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई गत आइतबारदेखि क्वरेण्टीनमा राखेको हो ।
आगामी बुधबारसम्म ती सबै खेलाडीको पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई भदौ १ गतेदेखि प्रशिक्षण दिइने एन्फाले जनाएको छ । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा दिइने छ ।
खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने, सबै खेलाडी प्रशिक्षक र पदाधिकारीलाई कोरोना भाइरसको विषयमा जानकारी गराउने, अभ्यासका क्रममा दर्शकलाई मैदानमा प्रवेश गर्न नदिने, खाना सामूहिक रुपमा खान नपाइने, व्यक्तिगत दूरी बनाएर खानुपर्नेलगायतका मापदण्ड एन्फाले बनाएको छ ।
अभ्यासका क्रममा एउटा खेलाडीले एउटै बोतलले मात्र पानी पिउनुपर्ने, अभ्यास स्थललाई नियमित निर्मलीकरण गर्नुपर्ने तथा अभ्यास स्थलमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने मापदण्ड बनाएको छ । सहभागी सबै खेलाडीले एकै पटकमा अभ्यास गर्न पाउने छैनन् ।
खेलाडीलाई तीन समूह बनाएर अभ्यासमा सहभागी गराइने छ । फिफा र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य निर्देशिकाअनुसार नै खेलाडीलाई प्रशिक्षण दिइने जनाईएको छ । एन्फाले फिफा विश्वकप, २०२२ र एएफसी एसियन कप, २०२३ को छनोट प्रतियोगिताका लागि तयारी अगाडि बढाएको हो ।
