पुस्तक खहरे हो भने पुस्तकालय सागर : शिक्षक रिमाल – संवाद

सिएम रिमाल, हेटौंडा (मकवानपुर) काे एक सफल र सक्षम शिक्षक हुनुहुन्छ । शिक्षामा  पुस्तकालय र वालसाहित्यकाे विशेष महत्व रहन्छ भन्नुहुने उहाँ असल विद्यार्थी र सफल शिक्षक तथा अभिभावककाे बारेमा पनि महत्वपूर्ण धारणा राख्नुहुन्छ । शिक्षक रिमालसंग वालसाहित्यकार सम्पादक यशु श्रेष्ठले गर्नुभएकाे संवाद प्रस्तुत छ । 

विद्यालयमा पुस्तकालयको महंत्व किन र कसरी छ ?

-पुस्तक खहरे हो भने पुस्तकालय सागर हो  । कक्षालाई पात भन्न सकिएला, पुस्तकालय ज्ञानको वृक्ष हो  । माथिका दुई वाक्यबाट नै पुस्तकालयको महत्त्व स्पष्ट हुन्छ । पुस्तकालयको महत्वलाई सूक्ष्म तरिकाले केलाउने हो भने यो ज्ञानको समुद्र तथा आफूले खोजेका अनि रोजेका कुराहरुको परीक्षण गरी गन्तव्यमा पुग्ने स्थल हो  । शैक्षिक अध्ययन तथा जीवन सिकाउने माध्यम नै पुस्तकालय हो  । यहाँ आफ्नो ज्ञान र सिपको क्षेत्रलाई बढाई जीवन जिउने आधार मात्र स्थापित गर्दैन कि समाज केलाउने मौका पनि प्रदान गर्दछ  । आफूभित्रका ज्योति, सिप, विचार, सिर्जनशीलता र सोचलाई नजिकबाट नियाल्दै परीक्षण र त्यसलाई परिमार्जन गर्ने उचित थलोको रुपमा पनि यसलाई प्रयोग गर्न सकिने भएकाले ज्ञान आर्जनको प्रयोगशालाको रुपमा यसलाई लिन सकिन्छ । अनि अर्को कुरा, सबैसँग पुस्तक तथा पत्रपत्रिकामा लगानी गर्ने आर्थिक श्रोत नहुन सक्छ । त्यसको समाधान पुस्तकालय भएकाले पनि पुस्तकालयको महत्व चुलिँदै गएको हो  । एकदमै सरल तरिकाले आफ्नो रोजाइ र मनपरेका तथा आवश्यकताअनुसारका पुस्तक, पत्रपत्रिका, लेखरचना आदि अध्ययन गर्न सकिने, खोजकर्ताहरुलाई सन्दर्भ सामग्री, पुस्तक, लेख रचना आदि प्राप्त गर्ने सजिलो र सरल माध्यम हुने, पुस्तकालयको प्रयोगकर्ता विभिन्न उमेर समूह, समुदाय, धर्म र कक्षाका हुने र उनीहरू एकै थलोमा उपस्थित अध्ययन गर्ने भएकाले चिनजान, भलाकुसारी र एकअर्काका कुराहरू आदानप्रदान हुने हुँदा पनि यसको महत्व बढेको हो  । पुस्तकालयमा प्राप्त हुने कम्प्युटर तथा अन्य विद्युतीय सामग्रीहरुका कारण कम समयमा नै बढीभन्दा बढी सेवा सरल तरिकाले प्राप्त गर्न, पुस्तक, पत्र–पत्रिकाहरु, श्रव्य–दृश्य सामग्री, कम्प्युटर तथा अन्य विद्युतीय स्रोतमार्फत आधुनिक सूचना प्रविधिको क्षेत्रमा विद्यार्थीको ज्ञानको परिधिको क्षेत्र बढाउन, आफ्नो कला, सिर्जना, सिप र क्षमता अभिवृद्धि गर्न, आफूले अध्ययन गरेको पुस्तक, लेख रचना आदिको बारेमा छलफल र समीक्षा गर्ने थलोको रुपमा प्रयोग गर्न, ऐतिहासिक पुस्तक, लेख–रचना आदिको अभिलेख र संरक्षणका लागि र अर्को कुरा विद्यार्थीलाई परीक्षाका तयारीका लागि पनि पुस्तकालय अपरिहार्य छ ।

विद्यालय पुस्तकालयमा बालसाहित्यको महत्व नि ?

-बालबालिकाहरू निर्दोष, निश्छल र कोमल हुन्छन्  । उनीहरुको मनमस्तिष्क रित्तो भाँडा जस्तै हुन्छ । उनीहरूले यो उमेर विद्यालयमै बिताउँछन् । बालबालिकाको यो उमेर र मनोविज्ञानलाई बुझेर अध्यापन गराउन हामीले विद्यालयमा बालसाहित्यको बिउ रोप्नुको विकल्प छैन  । रङ्गविहीन पानीका थोपालाई रङ दिने, जिज्ञासु र उत्सुक बालबालिकाकाप्रति सम्बोधन गराउने एउटा सरल माध्यम भनेको बालसाहित्य नै हो । बालबालिकाको बालसुलभपनलाई कोमल ढङ्गले बुझ्न, बुझाउन र शिक्षकको दायित्व पूरा गरी अगाडि बढ्न पनि बालसाहित्य चाहिन्छ  । यसकारण कक्षा पुस्तकालय होस् वा विद्यालय पुस्तकालय, बालसाहित्यको विकल्प छैन ।

शिक्षकद्वारा बालसाहित्यलाई कसरी प्रयोग गर्न सकिन्छ र किन ?

शिक्षकद्वारा बालसाहित्यलाई सबैभन्दा पहिले त आफ्नो कक्षाकोठामा प्रयोग गर्नुपर्छ  । सन्दर्भ सामग्रीको रूपमासहित विषयगत रूपमै पनि बालपुस्तकहरू प्रयोग गर्न सकिन्छ । पुस्तकभित्र रहेका सिर्जना र सिर्जनशील विषयवस्तु जीवनोपयोगी हुने कुरामा कुनै सन्देह छैन  । हरेक हप्ताको एक वा दुई दिन पुस्तकालय लगेर त्यहाँ उनीहरुको रोजाइका पुस्तकहरु पढ्न दिने, प्रत्येक हप्ता पुस्तकालयको कम्तीमा २ वटा पुस्तक पढ्न लगाउने, पढेका पुस्तकबाट पुस्तक परिचर्चा गर्ने, पढेका पुस्तकहरुको समीक्षा लेख्न लगाउने, आफूले पढेका पुस्तकहरु अरुलाई पढ्नै पर्ने कारणहरु बताउन लगाउने, पुस्तकालयमा गएर सिर्जनाहरु सुनाउन लगाउने जस्ता कार्यहरू गराउन सकिन्छ ।

यी माथिका कुराहरू यदि विद्यालयमा सुरु गर्ने हो भने पक्कै पनि बालबालिकाहरु सिर्जनशील बन्दै समाज बुझ्ने छन् । त्यस्तै आफ्नो बोली व्यवहार, अनि हरेक लेखाइहरु मौलिक हुँदै सिर्जनशील हुने कुरामा म ढुक्क छु  ।

एक सफल विद्यार्थी बन्न विद्यार्थीले के चाहिँ गर्नुपर्छ ?

एक सफल विद्यार्थी बन्न विद्यार्थीले आफूलाई सिर्जनशील बनाउनुपर्छ  िकिताबी र विषयगत कुराहरुको पनि हेक्का राख्दै पुस्तकालयमा गएर अध्ययन गर्न बिर्सिनु हुन्न । आफूले पढेका हरेक विधाका सिर्जनालाई मनभित्र सुसज्जित गर्दै त्यसमा आफ्ना धारणाहरु पस्कनु पर्छ । फुर्सदको समयमा हातमा साहित्यिक पुस्तकहरु हुनुपर्छ । जहाँ गइन्छ, त्यहाँको दृश्य या भावहरु कोर्न कहिल्यै छुटाउनु हुन्न । जिल्ला वा अन्य ठाउँमा हुने सिर्जनशील र साहित्यिक गतिविधिमा सरिक हुनुपर्छ  । विद्यालय, घर, परिवार र साथीभाइकाबिच बोलीचाली र व्यवहार नम्र, अरूलाई चोट नपुर्‍याउने र सहयोगी हुनुपर्छ ।

सफल शिक्षक र अभिभावक बन्न के गर्नु पर्ने रहेछ  ?

सफल शिक्षक बन्न सबैभन्दा पहिले त आफू अपटूडेट हुनुपर्छ  । कक्षा कोठामा म किन जाँदै छु भन्ने कुरा पहिले नै मनन गर्नुपर्छ  । कक्षामा गएर म के सिकाउँदै वा पढाउँदै छु वा के छलफल गर्नेछु वा गर्दैछु, त्यसमा हेक्का राख्नुपर्छ । आफ्नो पूर्व तयारी बिना कक्षामा प्रवेश गर्नु भनेको लक्ष्य बिनाको यात्रा हुन्छ  । आफू केवल सहजकर्ताको रुपमा उभिनुपर्छ  । विद्यार्थीले आफ्नै जीवनमा भोगिरहेका कुरा, कल्पना गर्ने क्षमतामा अभिवृद्धि गर्ने खालको क्रियाकलाप समावेश गर्नुपर्छ  । उनीहरुको उमेरलाई मिल्ने खालको सरल तथा सरस भाषाको प्रयोग गर्नुपर्छ  । भर्खरै बोली फुटेर तोतेबोली बोल्न जानेका बालबालिकाका लागि पुस्तक हेरेर पढ्नभन्दा पनि चित्रमा रमाउन दिनुपर्छ  । विद्यार्थीको रुचि बुझेर शिक्षण गर्न सक्नुपर्छ  । साहित्यिक भाषा जानेको छ भन्दैमा क्लिष्ट शब्दहरु प्रयोग गर्नुहुन्न  । पाठ्यक्रमले तोकेको निर्दिष्ट उद्देश्यलाई मनन् गर्दै सिर्जनशील बनाउने खालका कार्यक्रमहरुको योजना बनाउनुपर्छ  । प्रश्न उत्तर घोटाउनेभन्दा पनि के सिकाउन खोजिएको हो, त्यो आफ्नो कक्षा कोठाको योजनामा हाल्नुपर्छ  । नेपाली भाषा नै साहित्य भएकाले उनीहरूले बुझ्न सक्ने, सकरात्मक ज्ञान दिने खालको हुनुपर्छ । उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने खालको हुनुपर्छ । बालबालिकाको कोमल मनमा कुनै किसिमको नकारात्मक असर पुग्ने खालको हुनु हुँदैन । शिक्षण सिकाइमा साहित्य (बालसाहित्य) अत्यन्त प्रभावशाली बन्ने कुरामा द्विबिधा छैन । त्यसैले पाठ्यपुस्तकमा गीत, कविता, कथा, नाटक, निबन्ध आदि समावेश गरिएको हुन्छ । पढाउँदा सकेसम्म कलात्मकता, लयात्मकतातिर जोड दिने गर्नुपर्छ । जे पाठ्यपुस्तकमा समावेश हुन्छ, त्यसलाई लिएर सिकाइ उपलब्धि हाँसिसल गर्न सञ्चार, सहकार्य, समालोचनात्मक तथा सिर्जनात्मक कुराहरु जोडेर शिक्षण गर्नुपर्छ  । पुस्तकालयको अधिक मात्रामा प्रयोग गर्दै पठन संस्कृतिको विकासमा जोड दिनुपर्छ । साथै, पुस्तक समीक्षा, पुस्तक परिचर्चाका कुराहरुलाई हामी शिक्षकले भुल्नु हुँदैन  ।

अभिभावकहरूले घरमा आफ्ना नानीबाबुहरुलाई लोककथा, दन्त्यकथा तथा आफ्नै सङ्घर्षका कथाहरू सुनाउनुपर्छ । रेडियोमा बालकार्यक्रमहरु सुन्न लगाउने, सँगै बसेर टिभि हेर्दै प्रश्नोत्तर गर्ने, मोबाइल दिनै परे साहित्यका तथा अन्य उपयोगी कुराहरु आफूसँगै राखेर दिनुपर्छ  । मोबाइलमा त्यस्तै किसिमका गीत, कथा सुनाउँदै देखाउँदै प्रति प्रश्न गर्नुपर्छ  । पुस्तकका रूपमा प्रकाशित भएका साहित्यका पुस्तकहरु विद्यालयको पुस्तकालयबाट लिएर प्रयोग गर्न लगाउनुपर्छ  । कथा पढेर सुनाऊ, यो गीत गाएर सुनाऊ, यो कविता वाचन गरेर सुनाऊ भन्दै फुर्सदमा भन्नुपर्छ  । किताब किनेर ल्याइदिने गर्नुपर्छ  । बालबालिकालाई कौतूहल जगाउने, कल्पनाशील बनाउने खालका सरल भाषामा साहित्य सिर्जना गर्न लगाउनुपर्छ  साथै फुर्सदमा आफ्ना कथाहरु सुनाउँदै व्यावहारिक कुराहरु भन्ने जस्तैस् आफू यहाँसम्म कसरी आइयो रु सुख दुखका कुराहरु साटासाट गर्नुपर्छ  । हरेक दिन विद्यालयमा कुन शिक्षकले के भन्नुभयो, साथीहरुले के भने ? आजको दिन कस्तो रह्यो भनेर अन्तरक्रिया गर्न भुल्नु हुँदैन । एक्काइसौं शताब्दी भन्दैमा प्रविधिमा आवश्यकभन्दा बढी झुम्मिन नदिने ताकि भोलि पुर्पुरोमा हात लगाउन नपरोस् । सानै उमेरदेखि प्रविधिको नकरात्मक प्रभाव पर्न गए भविष्यमा परिणाम नराम्रो आउन कुरा जानकारी गराउन हिचकिचाउनु हुन्न  । आफू पनि मोबाइल हेर्नुको सट्टा कुनै एउटा किताब हेरेर बसे बालबालिकाको पनि पढ्ने बानी हुन्छ  । उनीहरूमा साहित्यमार्फत चेतना फैलाउन सक्नुपर्छ ताकि अनुशासन बन्दै कल्पनाशील, तार्किक हुँदै सामाज बुझ्ने छन्  । सभ्य मानिस बनाउन आफ्नो बोलीचाली पनि सभ्य हुनुपर्छ  । असल मार्गमा लाग्न आफू पनि त्यही बाटोमा लम्किनुपर्छ ।

(रिमाल, नवोदय शिशु सदन, हेटौँडा, मकवानपुरका शिक्षक हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0