Thursday, May 21News That Matters

पूर्वमा तस्करी बढेसँगै भन्सार राजस्वमा ठूलो गिरावट

पूर्णपुष्टि, साउन १२ । पूर्वका प्रमुख भन्सार कार्यालयहरूको राजस्व सङ्कलनमा उल्लेखनीय गिरावट आएको छ। मोरङ, सुनसरी र झापा जिल्लामा बढ्दो तस्करीका कारण यो समस्या झनै गहिरिएको देखिन्छ।

विराटनगर भन्सार कार्यालयको तथ्याङ्क हेर्दा यो समस्या स्पष्ट देखिन्छ। आर्थिक वर्ष २०७७–७८ मा यस कार्यालयले ४० अर्ब ८१ करोड ९० लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। तर यो रकम लगातार घट्दै गएको छ। आर्थिक वर्ष २०७९–८० मा यो रकम घटेर ३३ अर्ब १३ करोड ६६ लाख ६० हजार रुपैयाँमा झर्‍यो। गत आर्थिक वर्ष २०८०–८१ मा यो रकम अझै घटेर ३० अर्ब ३५ करोड रुपैयाँमा सीमित भयो, जुन लक्ष्यको मात्र ६० प्रतिशत हो।

मेची भन्सार कार्यालयको अवस्था पनि त्यति राम्रो देखिँदैन। आर्थिक वर्ष २०७९–८० मा यस कार्यालयले १४ अर्ब ४ करोड ५ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। गत आर्थिक वर्षमा यो रकम केही बढेर १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ पुग्यो, तर यो पनि लक्ष्यको ७८.४० प्रतिशत मात्र हो।

सुनसरी भन्सार कार्यालयको स्थिति झनै चिन्ताजनक देखिन्छ। गत आर्थिक वर्षमा यस कार्यालयले १ अर्ब १७ करोड ४३ लाख ७३ हजार रुपैयाँको लक्ष्य राखेको थियो। तर वास्तविक राजस्व सङ्कलन मात्र ४१ करोड ५ लाख १७ हजार रुपैयाँ भयो, जुन लक्ष्यको केवल ३४.९६ प्रतिशत हो।

भद्रपुर भन्सार कार्यालयले पनि गत आर्थिक वर्षमा १२ करोड ७ लाख ७९ हजार रुपैयाँको लक्ष्य राखेकोमा ११ करोड ८१ लाख ५२ हजार ६३४ रुपैयाँ मात्र सङ्कलन गर्न सक्यो। यी आँकडाहरूले देखाउँछन् कि पूर्वी नेपालका भन्सार कार्यालयहरूको राजस्व सङ्कलन क्षमता गम्भीर रूपमा खस्किएको छ।

सुरक्षा स्रोतका अनुसार मोरङको दक्षिण क्षेत्र मटिअर्वा, दक्षिण गेट, दरैया नाका, रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिकाको सिक्टी, आमतोला, र धनपालथान गाउँपालिकाको दक्षिण क्षेत्रबाट ठूलो मात्रामा तस्करी हुने गरेको छ। झापा र सुनसरीका विभिन्न नाकाहरूबाट पनि यस्तै गतिविधि हुने गरेको पाइएको छ। विशेषगरी बिहान २ देखि ३ बजे र राति ११ देखि १२ बजेको समयमा तस्करी गतिविधि बढी हुने गरेको छ। समग्रमा यस क्षेत्रमा बढ्दो तस्करीले राज्यको राजस्वमा गम्भीर असर परेको देखिन्छ। सरकारी निकायहरूबीच बेमेल र प्रभावकारी नियन्त्रणको अभावले यो समस्या झन् जटिल बन्दै गएको देखिन्छ।