
पूर्णपुष्टि, असार १ । नेपालमा मनसुन भित्रिसकेको अवस्थामा पूर्वी र मध्य भु–भुगमा मात्रै प्रभाव छ भने पश्चिमी तराईमा फैलन सकेको छैन । मनसुन भित्रिएको तीन दिन भईसक्दा पनि पश्चिम तराईका जिल्लामा भने तातो हावा र लुको अवस्था छ ।
नेपालमा यस बर्ष जुन १४ तारिखमा भित्रिएको मनसुन पूर्व र मध्य नेपलामा मात्रै केन्दित छ भने पश्चिम तर्फ सर्न सकेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
मौसमविद सन्जिव अधिकारीका अनुसार पश्चिम नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकोले मनसुनी प्रणालीलाई फैलिन रोकिरहेको छ । जसले गर्दा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा अत्यधिक गर्मी कायम रहेकोले अझै केही दिन गर्मी नै हुने देखिएको उनले बताए ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा र कोशी प्रदेशका तराईका भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
