Monday, June 1News That Matters

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

बैशाख ५ 

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रवार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य बढाएको जनाएको छ ।

पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको निगमले जनाएको छ । हिजो मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले बढेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ ।

आन्तरिक उडानतर्फको हवाई इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृद्धि गरिएको छैन ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजेलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४१७.४७ पैसा घाटा रहेको छ । त्यस आधारमा १५ दिनमा ७० करोड ६६ लाख रुपैयाँ घाटा हुने जनाईएको छ ।

नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजेल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ ।