
पूर्णपुष्टि,माघ ११ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुल्ला रुपमा बिक्रीवितरण नगर्न आग्रह गरेको छ । पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न निगमले एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, अति प्रज्वलनशील पेट्रोलियम पदार्थ खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा बिक्री वितरण, असुरक्षित ओसारपसार तथा घर, पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षति समेत हुने संवेदनशील विषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्नु,नगराउनु हुन सूचित गरिन्छ।ु
सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ।
