
कास्की, असोज २३
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सम्पन्न भएको छ ।
कोरोना महामारीको विचमा विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा अहिले ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा ६४ प्रतिशत बराबरको काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दीपक पौडेल नेतृत्वको टोलीसँग बिहीबार भएको छलफलमा अहिलेसम्मको प्रगतिको बारेमा जानकारी गराउँदै आयोेजना प्रमुख मुनंकर्मीले धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भएको जनाईएको छ ।
त्यसैगरी आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कङ्क्रिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको र फिनिसिङ र डेकोरेशनको काम बाँकी रहेको जनाएको छ ।
हाल चिनियाँ कामदार तथा कर्मचारी १ सय ८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरिरहेको छ । तोकिएको मिति सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने आयोजनाले जनाएको छ ।
कोरोनाले अङ्ग्रेजी नयाँ वर्षदेखि नै आयोजनाको काम प्रभावित भएकाले ६ महिनाअघि नै विमानस्थलको काम सक्ने लक्ष्य पूरा नभए पनि अबको काम उपकरण जडानको रहेकाले सामग्री आउनेबित्तिकै काम शुरु गरेर तोकिएको समयभित्र काम सम्पन्न गर्ने जनाएको छ ।

