
पूर्णपुष्टि, असोज २३
कोरोना संक्रमणबाट आज विराटनगर र धरानमा थप चार जनाको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुई जनाको मृत्यु भएको हो ।
नोबेलमा रंगेली नगरपालिका–९ र धरान उपमहानगरपालिका–१२ का पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ ।
नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुधबार बिहान अस्पताल ल्याइएका ७२ वर्षीय वृद्धको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
नोबेलकै प्रयोगशालामा जाँच गर्दा उनलाई बुधबार कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी समस्या थियो ।
यहि असोज १७ गते नोबेलमा भर्ना भएका सुनसरी धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान करिब ७ बजे मृत्यु भएको हो । मृतकमा श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या थियो ।
इटहरी उपमहानगरपालिका–६ का ६८ वर्षीय पुरुषको बिहीबार राति १२ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा दीर्घ रोग थिएन ।
प्रतिष्ठानमा दुहबी नगरपलिकाका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकमा मिर्गौला रोगको गम्भीर समस्या थियो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

