
पूर्णपुष्टि,मंसिर २८
तेह्रथुममा पोखरीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका–६ सुदापका कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहानाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर ती बालिकाहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताउनुभयो ।
शनिबार दिउँसो खेल्न भनेर उनीहरु घरबाट निस्किएका थिए । अबरेसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत फेला परेका थिए ।
शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ ।
