
पूर्णपुष्टि,मंसिर २८
उदयपुरको कोभिड अस्पतालमा बेल्टारका सबै विरामी निको भएर घर फर्किए संगै अस्पतालमा कोेरोना संक्रमितको संख्या शुन्य भएकोे छ । संक्रमित ३ महिला र ७ पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनीहरु सबै डिस्चार्ज भएसँगै अस्पताल रित्तिएको हो ।
पछिल्लो २ सातायता ११ संक्रमित भेटिएकोमा ७ जनाको अस्पतालमा र ४ जना घरमै आईसोलेसनमा बसेर निको भएको चौदण्डीगढीका नगरप्रमुख खगेन्द्र राईले बताउनुभयो ।
उनका अनुसार जिल्लामा कोविड संक्रमण उच्च हुँदै गएपछि जिल्लाका ८ वटै स्थानीयतह मिलेर बेलटचारमा कोविड अस्पताल सञ्चालनमा ल्याउँदा स्थानीय संक्रमितलाई धेरै सहज भएको छ । सशस्त्र प्रहरी बलको व्यारेक राख्न २ वर्षअघि नगरपालिकाले निर्माण गरेको संरचनामै कोविड अस्पताल सञ्चानलमा ल्याउँदा जिल्लाभरीका जनतालाई फाइदा भएको मेयर राईले बताउनुभयो ।
चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलका अनुसार सञ्चानलमा आएको झण्डै ६ महिनापछि कोभिड अस्पतालका सबै संक्रमित निको भएको हो । पोखरेल स्वयं पनि २ साताअघि संक्रमित भएर होम आईसोलेसनमा रहेका थिए ।
चौदण्डीगढीकै कांग्रेस नेता प्रशान्त राई तथा अन्य २ जना संक्रमित पनि होम आईसोलेसनबाटै कोरोनालाई जित्न सफल भएको अस्पताल प्रमुखसमेत रहेका पोखरेलले बताउनुभयो । दिनमा आधा दर्जनसम्म संक्रमित भर्ना हुन आएको अस्पतालमा एकताका ३६ जनासम्म विरामीको उपचार गर्दागर्दै पोखरेल आफै संक्रमित हुनपुगेका थिए ।
हालसम्म सो अस्पतालमा ४५ महिलासहित १ सय ४५ जना संक्रमितको उपचार भईसकेको छ । उमेर समूह अनुसार ९ वर्षसम्मका २ बालिका, १० देखि १९ वर्षसम्मका ६ महिला ३ पुरुष, २० देखि ५९ वर्षसम्मका ३४ महिला र ९२ पुरुष तथा ६० वर्षमाथिका ३ महिला र ५ पुरुष संक्रमित निको भएको पोखरेलले जानकारी दिनुभयो ।
२ वर्षअघि निर्मित सशस्त्र प्रहरीका ४ वटा ब्लक रहेको खाली जग्गामा टेन्ट टाँगेर उपचार सेवा सुरु भएको अस्पताललाई दीर्घकालीन सेवा दिने उदेश्यले नयाँ पक्की भवन सम्पन्नको पूर्व संध्यामा पुगेको छ । २ करोड ६८ लाख १८ हजार २ सय १३ रुपैंया लागतमा निर्माणको अन्तिम चरणमा पुगेको ट्रस प्रविधिको भवनमा ८ स्थानीयतहबाट १ करोड र स्वीस सरकारले १ करोड ५० लाख सहयोग गरेको मेयर राईले बताएका छन् । अपुग रकम प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट लगाउने सल्लाह भईरहेको बताइएको छ ।
राईका अनुसार त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिकाले १५ लाखका दरले सहयोग दिदा लिमचुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकाले १० लाखका दरले बजेट दिएपछि अस्पताल सञ्चालन गर्दै नयाँ भवन बनाउन सहज भएको हो । त्रियुगा नगरप्रमुख बलदेव चौधरी अध्यक्षताको स्थानीयतहहरुको छाता संगठन ‘उदयपुर विकास बोर्ड’ को पहलमा कोविड उपचार गर्न अस्पताल खोलिएको हो । बोर्डको सचिव बेलका नगरप्रमुख दुर्गाकुमार थापा, कोषाध्यक्ष चौदण्डीगढी मेयर खगेन्द्र राई छन् भने अन्य स्थानीयतह प्रमुख सदस्य रहेका छन् ।
भवन निर्माण भएपछि २ जना विशेषज्ञ डा.को व्यवस्था गरेर कोविड अस्पताललाई साधारण अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्ने लक्ष्य उदयपुर विकास बोर्डले लिएको जनाएको छ ।
