Wednesday, April 22News That Matters

प्रचण्डद्वारा देशव्यापी जनसम्पर्क अभियानको घोषणा

पूर्णपुष्टि, साउन २५ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशव्यापी जनसम्पर्क अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। मंगलबार सम्पन्न पदाधिकारी बैठकको समापन समारोहमा बोल्दै प्रचण्डले यो अभियानको उद्देश्य जनताको सुख-दुःख बुझ्न र उनीहरूको आवाज सुन्न रहेको बताए।

प्रचण्डले जनतासँगको सम्बन्ध कडी टुटेको स्वीकार गर्दै, यस अभियानले पार्टी र जनताबीचको सम्बन्धलाई पुनः सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले भने, “म एकपटक देशैभरी जनतासँग एकाकार हुन, उनीहरूको सुखदुःख बुझ्न र कुरा सुन्न जाने इच्छा छ।”

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार प्रचण्डले यस अभियानबाट फर्किएपछि नयाँ विचारको संश्लेषण ल्याउने आशा व्यक्त गरेका छन्। सापकोटाले प्रचण्डको भनाइलाई उद्धृत गर्दै भने, “जनताको कुरा सुनेपछि अर्को तहको विचारको संश्लेषण आउँछ।”