
पूर्णपुष्टि, भदौ २७ गते ।
प्रदेश नं. १ विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता २०७९ बाट बल्ल कार्यान्वयनमा जाने भएको छ । दुर्गम पहाडी जिल्लामा विशेषज्ञ चिकित्सकहरु जान नखोज्ने अवस्था अन्त्य गर्न भन्दै प्रदेश सरकारले दुई वटा आर्थिक वर्षको बजेटमा चिकित्सकलाई प्रोत्साहन भत्ताको प्रबन्ध गरिएकोमा अब कार्यान्वयन हुने भएको छ । निजामति कर्मचारीहरुको असयोगको कारण देखाएर दुई वर्षदेखि कार्यविधि बनेको थिएन ।
कार्यविधि नबनेकै कारण बजेटमा घोषणा भएको कार्यक्रमबाट लाभ लिन चिकित्सकहरु वञ्चित थिए । यो घोषणा कार्यान्वयन गर्न अब कार्यविधि बनेको र तत्कालै कार्यान्वयनमा जाने प्रदेश स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिएका छन् ।
सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएर कार्यान्वयनमा लगेको मन्त्री यादवले जानकारी दिए ।
विशेषज्ञ चिकित्सकहरुलाई प्रदेश सरकारले मासिक १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने कार्यविधि बनाएको छ ।
प्रदेशका पहाडी तथा दुर्गम जिल्ला जाने चिकित्सकलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिइने कार्यविधिमा उल्लेख छ ।
संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ तेह्रथुम र पाँचथरका जिल्ला अस्पतालमा काम गर्ने चिकित्सकलाई समान प्रोत्साहन भत्ता दिइने कार्यविधिमा उल्लेख छ ।
ती अस्पतालमा काम गर्ने एघारौं तहका चिकित्सकलाई मासिक १ लाख ५० हजार, नवौं र दशौं तहका चिकित्सकलाई १ लाख ३५ हजार र आठौं तहका चिकित्सकलाई १ लाख २० हजार रुपैयाँ दिइने उल्लेख छ ।
पहाडी जिल्लाका चिकित्सकको भत्ता बढाएको सरकारले धनकुटा, उदयपुर र इलाम जिल्ला अस्पतालमा खटिने चिकित्सकको प्रोत्सान भत्ता घटाएको छ ।
ती जिल्लाका अस्पतालमा खटिने एघारौं तहका चिकित्सकलाई ७५ हजार, नवौं र दशौं तहका चिकित्सकलाई ६८ हजार र आठौं तहका चिकित्सकलाई ६० हजार रुपैयाँ मासिक प्रोत्साहन भत्ता दिइने कार्यविधिमा उल्लेख छ ।

