Tuesday, June 9News That Matters

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड ९२ लाख, पूर्वधारलाई प्राथामिकता

पूर्णपुष्टि, असार १ 

प्रदेश नं १ ले ३२ अर्ब ४६ करोडको बजेट ल्याएको छ । मंगलबार बिराटनगर स्थित आर्थिक मामिला तथा योजना मन्त्रालयमा  बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट प्रदेश नं १ ले ल्याएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको बताए ।

प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो ।

आगामी आर्थिक बर्षको बजेटले पूर्वधार विकास क्षेत्रलाई प्राथामिकता दिएको छ ।

प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि ३ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

झापाको मेची अस्पताललाई दुई सय बेड तथा पाँचथर र धनुकटा जिल्ला अस्पताललाई एक सय बेडमा विस्तार गर्ने प्रदेश सरकारको योजना छ । अन्य जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारका लागि ४४ करोड बजेट विनियोजन गरेको छ ।  प्रदेश सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासमा १३ अर्ब २१ करोड र शिक्षामा १ अर्ब १९ करोड विनियोजन गरेको छ ।

कृषि क्षेत्रमा २ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम सुरु गर्ने बताएको छ । प्रदेश गौरवको रुपमा रहेको घिनाघाट– विराटचोक सडक तथा अन्य आयोजना सञ्चालनका लागि ५ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षमा तीन हजार विपन्न नागरिकको घर बनाउन जनता आवास कार्यक्रम अन्तर्गत ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सिञ्चाइ तथा उर्जा क्षेत्रको विकासका लागि ३ अर्ब १५ करोड, खानेपानी तथा सरसफाइमा १ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।