Tuesday, June 2News That Matters

प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईलाई हार्दिकताका साथ उदयपुरबाट विदाइ

पूर्णपुष्टि, कात्तिक ३ ।

उदयपुरको रौतामाई गाउँपालिकाबाट सरुवा हुनु भएको प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईलाई एक समारोहकाबीच आइतबार गाउँपालिकाले विदाई गरेको छ । पालिकामा एक कुशल प्रशासक र कर्मचारी नेतृत्व बन्न सफल भएको भन्दै पालिकाले सम्मानसहित उहाँलाई विदाइ गरेको हो ।

संघीय सांसद सुरेशकुमार राई, प्रदेश सांसद नारायण बुर्जा मगरसमेतको उपस्थितिमा उहाँको विदाइ गरिएको थियो । पालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, उपाध्यक्ष कुमारी राना ज्यु ठकुरीले मायाको चिनो, कदरपत्र र खादा लगाई उहाँलाई विदाइ तथा सम्मान गर्नुभयो ।

संघीय सांसद राई र प्रदेश सांसद बुर्जा मगरले उहाँको कामको प्रशंसा गर्नुभयो । पालिका अध्यक्ष खड्काले उहाँको कामको उच्च मूल्यांकन गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राईले कर्मचारी र जनप्रतिनिधिको मात्र मन नजितेर सिंगो पालिकाबासी नागरिकहरुको मन जित्नु भएको अध्यक्ष खड्काले चर्चा गर्नुभयो । उहाँको कार्य सम्पादन, कर्मचारी परिचालन, नागरिकसंगको ब्यवहार र जनप्रतिनिधिसंगको समन्वय र सहकार्य विशिष्ट रहेको उहाँले बताउनुभयो ।

उहाँ जस्तो कुशल प्रशासकीय अधिकृत पाएर रौतामाईको विकास र कामले गति लिएको उल्लेख गर्दै उक्त योगदान पालिकाले कहिल्यै नभुल्ने बताउनुभयो ।

दुईवर्ष पाँच महिना पुरा काम गर्नु भएको उहाँलाई पालिकाका कर्मचारीहरुले असल अभिभावकको रुपमा सम्मान गरेका थिए । उहाँ २०७४ चैत २३ गते राैतामाइमा  हाजिर हुनु भएकाे थियाे भने २०७७ भदाै १९ गते रमना हुनु भएकाे हाे । विदाइमा मायाको चिनो र खादा ओढाइ विदाइ गरेका कर्मचारीहरुले वहाँबाट कर्मचारीमा हुनु पर्ने गुण र व्यवहार सिकेको, सधैं उहाँबाट साथ, हौसला र सहयोग पाएको भन्दै उहाँले देखाएको असलबाटोलाई सधै अंगिकार गर्ने बताए ।

उहाँको ललितपुर जिल्ला अन्तर्गतको बाग्मती गाउँपालिकामा सरुवा भएको हो । उहाँको सरुवा पछि रौतामाईमा पर्शुराम दाहाल प्रमुख प्रशासकीय अधिकृतमा आउनुभएको छ । बाग्मती गाउँपालिकामा हाजिर भई कार्यभारसमेत सम्हालीसक्नु भएका प्रशासकीय अधिकृत राईलाई रौतामाईले विदाइका लागि विशेष निम्तो गरेको थियो ।

प्रशासकीय अधिकृत राईले उदयपुरको वसाई विशेष बनेको बताउनुभयो । सबैको साथ, सहयोग र स्नेह पाएकाले करिब अढाइवर्षको बसाईमा समय वितेको आभास नभएको बताउनुभयो । उहाँले रौतामाई र रौतामाई बासी तथा उदयपुरबासी सदा सम्झनामा रहने बताउनुभयो ।

उहाँलाई सोमबार पूर्णपुष्टि मिडियाले पनि विदाइका साथ सम्मान गरेको थियो । वहाँको कार्यकाल मिडियामैत्री ढंगले पुरा भएको भन्दै पूर्णपुष्टिले उहाँलाई कदरपत्रसमेत प्रदान गरेको छ । पूर्णपुष्टिका प्रकाशक, सम्पादक भोटराज राई, संरक्षक किसन राई, त्रियुगा उद्योग वाणिज्य संघका पूर्व प्रथम उपाध्यक्ष भरत चामलिङ, किरात राई यायोक्खाका केन्द्रिय सदस्य विमल किराँती, नगर अध्यक्ष दिपक राई लगायतले खादा ओढाइ सम्मान गरेका थिए । उदयपुरको हार्दिकताले भरिएको विदाइ पछि सोमबारनै उहाँ नयाँ कार्यक्षेत्रतर्फ लाग्नुभयो ।

विदाइका केही तस्विरहरू :