Tuesday, June 9News That Matters

प्रसाईले दिए सुवेदीलाई भौतीक आक्रमणको धम्की

पूर्णपुष्टि, जेष्ठ १०

झापाको बिएन्डसी हस्पिटलका संञ्चालक दुर्गा प्रसाईले डा. गोविन्द केसीको सहयोगी तथा प्रेस संयोजक प्रितम सुवेदीलाई भौतिक आक्रमणको धम्की दिएको जनाएको छ ।

प्रसाई बाट धम्की आएको भन्दै सुवेदीले प्रेस विज्ञाप्ती मार्फत भौतिक धम्कीको जानकारी दिएका हुन् । प्रसाईले धम्कीमा ‘तलाईं भेटें भनेँ, तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु’ भन्दै धम्काएका विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिएको सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए । सुवेदीका परिवारका सदस्यहरु (आमा, बुवा र बहिनी) लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरिएको जनाएको छ । सुवेदी केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक हुन् ।

गत हप्ता डा. केसीले काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति सुवेदीले सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएका थिए । बिज्ञप्ति निकालेकै दिन प्रसाईंले धम्की दिएको सुवेदीले कान्तिपुरसित बताए । ‘तँ कहाँ छस् ? त्यहीँ आउँछु भनेका छन्,’ उनले भने । सोलिडारिटीले सुवेदीको सुरक्षाको मागसमेत गरेको छ । भौतिक आक्रमण गर्ने धम्की आइरहेकाले त्यसको जिम्मेवारी प्रसाईंले लिनुपर्ने क्षेत्रीले बताए । प्रहरीमा उनीविरुद्ध जाहेरीसमेत दर्ता गराउने तयारी भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीका विश्वासप्रात्र मानिने प्रसाईंले अभियानका एक सहयोगीलाई धम्की दिएको भन्दै संयोजक क्षेत्रीले आपत्ति जनाए । बीएन्डसीलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरीत सम्बन्धन दिने चलखेल भइरहेको छ । काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । प्रधानमन्त्री ओलीले पनि सम्बन्धन पाउने बताइसकेका छन् ।