
पूर्णपुष्टि, फागुन २२ ।
प्रहरीको कुटपिटबाट एक युवकको ज्यान गएको भन्दै बिहानैदेखि स्थानीयले कालीकोटको वीरेन्द्रनगर बजार बन्द गरेको छ ।
शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले कुटपिट गर्दा तिलागुफा नगरपालिका–३ का २५ वर्षीय कृष्ण हमालको शनिबार बिहान मृत्यु भएपछि वीरेन्द्रनगर बजार र सडक बन्द गरेर प्रदर्शन गरेको हो ।
परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घात कुटाइबाट हमालको ज्यान गएको भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । वीरेन्द्रनगर बजारको प्रवेशद्वार सुब्बाकुनाका प्रहरीले हमाललाई कुटेर हत्या गरेको उनीहरूको आरोप छ ।
सुर्खेतबाट लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन अहिले सञ्चालनमा आएका छैनन् । बसपार्कको दुवैतिर प्रहरी तैनाथ गरिएको छ, भने चोकचोकमा बाक्लो मात्रामा प्रहरी खटाइएको छ ।
घटनबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
