Saturday, June 20News That Matters

प्रहरीले नै पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरेको पुष्टि

पूर्णपुष्टि, भदौ ७

रौतहटमा निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको पुष्टि भएको छ । क्लोज सर्किट (सीसी) क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले अनुसन्धान थालेको थियो । त्यसक्रममा घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको पुष्टि भएको हो ।

प्रदेश नं. २ प्रहरी उच्च स्रोतका अनुसार प्रहरीद्वय यादव र शाहलाई निलम्बन गरेर अनुसन्धान गर्ने तयारी थालिएको छ ।

रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । तर हालै भएको अनुसन्धानले होटलमा खाजा खान गएका वेला उनको मोटरसाइकलमा लागूऔषध राखिएको देखिएको छ । पत्रकारको संलग्नता नदेखिएपछि छाड्ने तयारी गरिएको स्रोतले उच्च स्रोतले जनाएको छ ।

सोमबार दिउँसो एउटा अडियो रेकर्ड पनि सार्वजनिक भएको छ, जसमा असई उदय यादवले भनेका छन्, ‘सेतो हेलमेट देखिएको छ, त्यो धिरजलाई सेतो हेलमेट हटाएर अर्को हेलमेट प्रयोग गरेर मोटरसाइकल चलाउन भन्नु ।’ अडियोमा उनले सीसी टीभी फुटेज मेटाउन लागेको बताएका छन् ।

सबै वस्तुस्थितिले घटनामा पत्रकार मोहम्मदको संलग्नता नदेखिएको स्रोतले जनाएको छ । तर घटनामा प्रहरी मात्रै दोषी नभएको एक प्रहरी अधिकृतले बताउनुभयो । पत्रकार महासंघको जिल्ला शाखाकै एक पदाधिकारीले व्यक्तिगत रिसिइबीका कारण दुई प्रहरी प्रयोग गरेर घटना एक प्रहरी अधिकृतको भनाई रहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।