
कैलालीको भजनी नगरपालिका मोरियाघाट नेपाल–भारत सीमा नाकामा सोमवार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।
ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।
मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भएको प्रहरीले जनाएको छ ।
बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गरेको प्रहरीले जनाएको छ ।
यस घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
