Friday, June 26News That Matters

प्रहरी सक्रियता : चाेरी निकासीका लागि संकलन भएकाे २ हजार ८ सय ४८ घनमिटर ढुंगा बरामद्, ७ वटा ट्याक्टर पनि पत्रफाउ

पूर्णपुष्टि, साउन २३ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ७ स्थित कोल्टे गाउँमा बलानखोलामा अबैंधरुपमा उत्खनन् तथा संकलन गरी राखिएको २ हजार ८ सय ४८ घनमिटर ढुंगा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको सक्रियताबाट ठूलो मात्राको ढुंगा बरामद भएको छ । बलानखोला र कोल्टे गाउँनै कब्जा गरी ढुंगा चोरी निकासी गर्ने समुहले उत्खनन् गरी खोला किनार र गाउँमा संकलन गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताउनुभयो ।

जिल्ला प्रहरीको एकहप्ताको सक्रियतामा बरामद भएको ढुंगा हिजो (विहिबार) जिल्लास्तरीय अनुगमन समितिले स्थलगत अनुगमन गरी नापजाँच तथा सिल गरेको छ । तीस ठाउँभन्दा बढी ठाउँमा संकलन गरी राखिएको ढुंगा प्राविधिक टोलीसहित गएको अनुगमनटोलीले नाप्दाको प्रारम्भिक रिपोर्टमा उक्त परिणाम ढुंगा देखिएको हो । उक्त परिणामको ढुंगा स्थानीय मुल्य अनुसार करिब ४० लाख बराबरको हो । स्थानीय सरकारबाट विना टेण्डर, विना स्विकृति जेसिविसमेत प्रयोग गरेर ढुंगा चोरी निकासी भएको स्थानीयले बताएका छन् । निकासीमा टिफरसमेत प्रयोग भएको स्थानीयको भनाइ छ । यो अबैध काममा स्थानीय ट्याक्टर ब्यवसायी र स्थानीय राजश्री सामुदायिक वन उपभोक्ता समुहका स्वयम् अध्यक्ष संलग्न रहेको बुझिएको छ । साथै सो क्षेत्रमा खटिने वन कर्मचारी र प्रहरीकै पनि संलग्नता रहेको आरोप स्थानीयको छ ।

स्थानीयका अनुसार खोला दोहनका कारण सप्तरीसम्मको सिचाइ सुविधा पुगेको नहरको मुहान जिर्ण बनेको छ । नहर तथा खोला नियन्त्रणका लागि लगाइएको जारीढंगासमेत तस्करीले उठाएर लगेको पाइएको छ । दोहनकै कारण स्थानीयको जग्गा जमिन खोलाले कटान भएका छन् भने बस्तै नै जोखिममा परेको छ । पाँचवर्षकै अन्तरालमा खोला अस्वभाविकरुपले गहिरिएको छ । गाउँ नाम जस्तै हत्तपत्त प्रहरी, प्रशासनको नजर नपुग्ने कोल्टे ठाउँमा रहेको र विगतका वर्षहरुदेखि नै गाउँबासीलाई गाउँका सिमित ब्यक्तहरुले दादागिरी जमाउदै उजुरी गरे मारिदिनेसम्मको धम्कि दिदै चोरी निकासी र दोहन गर्ने गरेका थिए ।

ठुलो मात्रामा प्राकृतिक दोहन भएको सूचना प्राप्त भएपछि उक्त क्षेत्रमा एकसाता यता प्रहरीको सक्रियता बढेको थियो । तीनदिन अघि त्यहाँ प्रयोग भएका सातवटा ट्याक्टर जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ । चोरी निकासी तथा दोहनमा संलग्न स १ त ४९८२, स १ त ४७११, स १ त ६९९४, स १ त ७४००, स १ त ५०२७, स १ त ७००९ र एकओटा अनटेस्ट ट्याक्टर गरी सात ओटा नियन्त्रणमा लिएको हो ।

अहिले पनि प्रहरीलाई कस्ले खबर गर्यो भन्दै धम्कि आउन सुरु गरेको र त्रसित हुनु परेको गाउँलेहरुले बताएका छन् । अनुगमन टोलीमा रहेका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुले कसैले धम्क्याएमा मात्र पनि खबर गर्न भन्दै त्यस्तालाई हदैसम्मको कारवाही गरिने आस्वस्त तुल्याएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।

जल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको नेतृत्वमा गएको अनुगमनटोलीले वडाध्यक्षको संयोजकत्वमा निगरानी समिति बनाएको छ । बरामद पछि सिल गरिएको ठूलो मात्राको ढुंगोको संरक्षण र सदुपयोगका लागि लागी पर्ने जिल्ला समन्वय प्रमुख खड्गबहादुर परियारले बताउनुभयो ।

ठूलो मात्रामा बरामद भएको ढुंगाको सुरक्षामा चुनौती देखिएको छ । पछिल्लो सरकारी निर्देशिका अनुसार स्थानीय स्रोत साधनको संरक्षण र कारवाहीको जिम्मा स्थानीय सरकारलाई छ । स्थानीय सरकारले अख्तियारीलाई दुरुपयोग र कारवाहीलाई फितलो पार्ने हो की भन्ने चिन्ता छ । ढुंगाको संरक्षण र कारवाहीमा कडाइका साथ लाग्ने गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभएको छ । उहाँले सुरक्षा निकाय र प्रशासनको सहयोग लिएर बरामद ढुंगाको संरक्षण र सदुपयोग गर्ने बताउनुभयो ।

तस्विरहरू :