
पूर्णपुष्टि, भदौ २६
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहो¥याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ ।
यही भदौ २९ गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको र प्रस्ताव लेख्ने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
अबको कार्यकाल कति अवधिको हुने भन्नेमा मन्त्रालय अन्योलमा रहेको छ । चर्को जन दबाबपछि प्रधानमन्त्री ओली कुलमानलाई नै कार्यकारी निर्देशकमा दोहो¥याउन तयार हुनुभएको तर चार वर्षे कार्यकाल नै दिन भने असहमत भएको जनाईएको छ ।
कुलमानलाई दोहो¥याउन दुई अध्यक्षबीच सहमति भइसकेको भएपनि अवधि टुङ्गो नलाग्दा प्रस्ताव टुङ्गो लगेको छैन् । तर विद्युत् प्राधिकरण ऐनमा कार्यकारी निर्देशकको कार्यकाल चार वर्षे हुने भनेर तोकिएकाले त्यसलाई मिलाउन भने समस्या देखिएको छ ।
प्रधानमन्त्री ओली घिसिङलाई दुई वर्षे कार्यकाल दिन तयार हुनुभएको छ तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने घिसिङलाई नै चार वर्ष काम गर्न दिनुपर्ने पक्षमा हुनुहुन्छ । प्रचण्डको भनाइमा ऊर्जामन्त्री वर्षमान पुनले सहमत जनाउनुभएको छ ।
विसं २०७३ सालको भदौ २९ गते प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउनेदेखि रुग्ण आयोजना पूरा गरेको र चरम घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँसम्म नाफामा लगेको भन्दै पुनः नियुक्ति दिन सर्वसाधारणले माग गरिरहेका छन् ।

