Wednesday, June 10News That Matters

प्रेमिकालाई गोली हानी हत्या गर्ने युवा १० वर्षपछि पक्राउ

पूर्णपुष्टि,माघ ९ 

प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका एक युवा १० वर्षपछि काठमाडौंको मूलपानीबाट प्रहरीले पक्राउ गरेको छ । पाँचथरको एउटा होटेलमा प्रेमिकालाई लगी अर्को दिन गोली हानी हत्या गरी फरार रहेका कुमुक हाङ भनिने पवन लिम्बुलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

पवनले १० वर्षअघि प्रेमिका सुष्मा तुम्बाहाङ्फेलाई गोली हानी हत्या गरेका थिए । मृतक सुष्मा र आरोपित पवन दुवै ताप्लेजुङका हुन् । उनीहरु पाँचथर सदरमुकाम फिदिमको एउटा गेस्ट हाउसमा बसेका थिए ।

ब्रिटिस सेनामा भर्ना हुने पक्रियाका लागि पवन ताप्लेजुङबाट झापा आएका थिए । उनीसँगै ती किशोरी पनि झापा आएकी थिइन् । ब्रिटिस सेनाको भर्ना प्रक्रियामा सहभागी पवन सुष्मासँगै फिदिम गएका थिए ।

प्रहरीको अनुसन्धानमा उनी विवाह गरेर काठमाडौंमा बस्दै आएको खुलेको छ । ताप्लेजुङ स्थायी घर भएका २७ वर्षीय पवन विवाहपछि मूलपानीमा लुकिछिपी बस्दै आएको प्रहरीले अनुसन्धानमा खुलेको छ ।

थप अनुसन्धान गरी मुद्दा चलाउन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय पाँचथर पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।